मकवानपुर । तिहार पर्व भन्नासाथ प्रायः सबैको मनमा झल्लो आइहाल्छः ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिको फूलहरुको । विशेष गरि हिन्दु समाजमा मनाइने दशैं पर्व भर्खरै सकिएको छ । तर संघारमै आइपुगेको छ तिहारको रमझम पनि । “गाउँ पस्दा त घरघरै फूलहरु फूलेका देखिन्छन्, फूलहरुको मौसमले तिहार पर्वको स्वागत गरेजस्तो लाग्छ” हेटौंडाकी सुनिता घिमिरेले भनिन् “चापडर्वहरुमा गाउँ नै रमाइलो ।”
फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आंगनमा भित्रदै छ । आँगनका डिल र बारीका कान्लाहरूमा मखमली र सयपत्री फूलहरू हांसिरहेका छन् । सदा जसो नेताहरूको कार्यक्रममा मालाको व्यवस्थापनमा लाग्ने हेटौंडा ६ चौघडाका पुष्पव्यवसायी बालकृष्ण चौलागाईंलाई अहिले तिहारको व्यस्तताले पनि छोएको छ ।
तिहार पर्वको पर्याय जस्तै हुन् पुष्पमाला, सेलरोटी, दाजुभाइ र दिदिबहिनी । फूलको सुगन्धले सबैको मन तान्छ, सबैलाई आकर्षण गर्छ । तर फूल जति आकर्षक छ, यसको व्यवसाय तेति सहज भने छैन, आकर्षक छैन । पुष्प व्यवसायी चौलागाईं सबै क्षेत्रमा संघर्ष र चुनौती रहेको बताउँछन् । “संघर्ष र रिस्क सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसाय झन् रिस्की छ” उनले भने “छोटो समयमा उपलब्धी लिन सकिने भए पनि भण्डारणलगायतको समस्या भएकोले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ ।”
चौलागाइले विगत ५ वर्षदेखि ५ कठ्ठा जमिनमा फूल खेती गर्दैै आएका छन् । यसवर्ष उनले २० हजार वटा मालाहरु उत्पादन गर्ने लक्ष्यका साथ ५ बिगाहा जमिनमा फूलखेति गरेका छन् । सुरुसुरुका वर्षमा पुष्प व्यवसायबाट राम्रो आम्दानी लिएका चौलागाई पछिल्ला वर्षहरुमा भने समयले साथ नदिएको बताउँछन् । “कहिले कोरोनाको कारण त कहिले विभिन्न कारण औपचारीक कार्यक्रमहरु कम भएमा फूल खतप गर्नै समस्या हुन्छ” चौलागाईले भने “कहिले माग राम्रो हुन्छ, तर मौसमले साथ दिंदैनन् ।”
हेटौंडा १३ का युवा कृषि उद्यमी फेन्चु लामा रुम्बाले पनि आफ्नो ड्रागन फुड खेतिमा भित्रिबालीको रुपमा फूल खेती गरेका छन् । जाँगर र महनत गर्ने हो भने कृषिबाट पर्याप्त आम्दानी लिन सकिने लामा बताउँछन् । उनले विगतमा पनि ड्रागन फुडको भित्रि बालीको रुपमा फूल खेति गर्दै आएका हुन् । फूलको विरुबा रोपेपछि ३ महिनामा आम्दानी दिन्छ । प्रति फूलको बिरुवामा कम्तिमा एक सय वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने चौलागाई बताउँछन् ।
बजारमा एउटा माला खुद्रा मुल्यमा १ सय रुपैयामा बिक्री हुने गरेका छ भने फूल किलोको ३ सय ५० रुपैयामा रहेकाे छ ।उज्यालोको पर्व तिहारको रुपमा चिनिने तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा पछिल्लो समय व्यवसायीक खेती हुन थालेको छ । दशक अघिदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका मकवानपुरगढी गाउँपालिका वडा ६ का टीकाप्रसाद दाहालले पनि यस वर्ष तरकारी छाडेर फूल खेति गरेका छन् । “तरकारीको मूल्य नै आउन छाड्यो केही त गर्नै प¥यो भनेर फूल रोपे” ६ नम्बर वडाको पूर्व अध्यक्ष समेत रहेका दाहालले भने ।
ग्रामिण क्षेत्रमा स्थानीयहरुले आफ्नो खेतको आलि, बारीका कान्ला र आँगानको डिलहरुमा तिहार लक्षित गरेर फूलको बिरुवा रोप्ने गरेका छन् । स्थानीयहरुले आफ्नो लागि निर्वाहमुखि रुपमा फूल रोप्ने गरेको भए पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ , १२, १३, १४ लगायतका वडाहरुमा ठाउँहरुका झण्डै २५ बिगाहा जमिनमा फूलखेती भइरहेको छ । छाेटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको दाहाल बताउँछन् ।
सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ । पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।
यो फूलको अंग्रेजी नाम म्यारी गोल्ड हो । नेपालमा कतैकतै यसलाई हजारी फूल पनि भनिन्छ । सयपत्री फूल धेरै प्रजातीको हुन्छ र यसको प्रयोग सृष्टीकाल शताब्दीदेखि नै भएको मानिन्छ ।
हाल हेटौंडामा मालाको माग सम्बोधन गर्न चौलागाई आफैंले सर्लाहीबाट माला झिकाएर पनि बिक्री गर्ने गरेका छन् । सर्लाही जिल्लादेखि ल्याइएको मालालाई स्टोर गर्न उनले भण्डारण कक्षको समेत व्यवस्था गरेका छन् । जुन स्टोरमा १० हजार माला अटाउने १५ दिनसम्म राख्न सकिने चौलागाईले बताए । उनी पूर्व लडाकुँ हुन, तर पछिल्लो समय उनी कुनै पनि दलमा आवद्ध छैनन् । “जहाँ निष्ठा सहित बाँच्न सकिन्छ, त्यही बसौ भनेर मैले कृषि रोजे” चौलागाई भन्छन् । उनले आफ्नो रोजाइ आज पनि हतियार नै भएको ठट्टाको शैलीमा भने “उबेला राजनीतिमा थिएँ, हतियार (बन्दुक) चलाउँथे, अहिले कृषीमा छु, यहाँ पनि हतियार (कुटो, कोदालो) नै चलाउँछु ।” हाल कुनै पनि दलमा आवद्ध नभएपछि सामाजिक कार्य र कृषि कर्ममा तल्लिन छन् उनी ।
पुष्प व्यवसायको काम उनी आफैं र परिवारको सदस्यहरुको सहायतामा गर्छन, नभ्याएको काम ज्यालामा लगाउँछ, जसले अरुलाई समेत सानोतिनो खर्चको जोहो हुने गरेको छ । माला उने बापत प्रतिमालाको २ रूपिया, फूल टिप्ने, तथा गोडमेल गरेको प्रतिघण्टाको सय रुपिया ज्याला तोकिएको छ । ६ वर्ष पहिले घाँस फुल्दै आएको भिरालो जगामा पछिल्लो ६ वर्षदेखि फूल खेल्ने गरेको छ । स्वरोजगार बन्नको लागि यो बलियो आधार भएको बताउँछन् उनी ।
तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ । यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाहरूले लिंदै आएका छन् । जुन बातावरणमैत्री समेत छैन । युवाहरूलाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने हो भने यो व्यवसायले पनि एउटा विकल्प बन्न सक्छ, र यसले पनि देशको अर्थतन्त्रमा टेवा दिन सक्छ । युवालाई कृषिमा आकर्षण गरि टिकाउको लागि स्थानीय सरकारले कसरत गरिरहेको बताईरहेको छ,तर युवाहरूको आकर्षण अहिले पनि वैदेशिक रोजगार नै छ । कृषि प्रधान देशमा कृषिमा यात्रीकिकरण र विबिधिकरणको खोजी अझै भएको छैन । स्थानीय तहले यसतर्फ ध्यान दिने हो भने नेपाललाइ फूलमा आत्मानिर्भर बनाउन सकिने बताउँछन् उनी ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरू अहिले खेतबारीमा नै भेटिन्छन् । तिहार सुरु भएदेखि उनीहरूलाई भ्याइनभ्याइ छ । तरकारी जन्य कृषि बाली उत्पादन गर्ने सो क्षेत्रका किसानहरू सिजनका बेलामा फूल खेती पनि गर्छन् । नगदे बालीका रूपमा तरकारी खेती गर्दै आएका इन्द्रसरोवरका कृषकहरूले पछिल्लो समय फूल खती गरेर मनग्य आमदानी गरिरहेका छन् ।
प्रतिबन्धित फूल बजारमा छ्यापछ्याप्ती
नेपाल सरकारले पछिल्लो समय प्लाष्टिक प्रतिबन्ध लगाउँदै आएको छ । हेटौंडा बजारमा पनि विगत १ दशकदेखि प्लाष्टिक न्यूनिकरण अभियान जारी छ । तर तिहारको संघारमा हेटौंडा बजारमा प्रतिबन्धित प्लाष्टिकका मालाहरु छ्यापछ्याप्ति विक्रिी भइरहेका छन् । यसको नियमन तर्फ स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएको छैन । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन ।
प्लाष्टिकका मालाहरु कारण किसानले उत्पादन गरेको सयपत्री र मखमली फूल बिक्री हुन कठिन भइरहेको छ । प्लास्टिकका गुच्छा र मालाकै कारण फूल बिक्री गर्नका लागि समस्या भएको हाे । नओइलाउने र सधै राम्रो देखिने भएका कारण प्लास्टिकका गुच्छा र माला प्रति उपभोक्ताकाे ध्यान जाने गरेकाे छ । ‘यसपाली फूलकाे उत्पादन धेरै मात्रामा छ । यता बजारमा भारतीय फूल र प्लास्टिकका सजावटले गर्दा बिक्री कस्तो हुन्छ खै’ चौलागाईले गुनासाे गरे ।