मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का सांसद् एवम् पूर्व उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले एष्ट्रोनोभा फाउण्डेशन नेपालले सञ्चालन गर्ने तयारी गरेकाे ल्याबकाे अवलोकन गरेका छन् । फाउण्डेशनले संचालन गर्न लागेकाे क्रियटिभिटी एण्ड इनोभेशन वर्कसप ल्यावरोटरी एएफएन टिङ्करिङ ल्याबको सिंहले अवलाेकन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित निर्माणाधिन उक्त ल्यावको अवलोकन पश्चात सांसद् सिंहले निर्माण सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रस्तावित प्रयोगशाला देशकै नमूना प्रयोगशाला हुने बताउँदै सांसद सिंहले देशमै केही गर्छु भन्ने युवाहरुको जोश जाँगर र सिर्जनशील क्षमतालाई यही सदुपयोग गर्न फाउण्डेशनले थालेकाे अभियानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले ल्याव निर्माण सम्पन्न गर्न सके, विद्यार्थीहरुमा विज्ञान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता लगायत उनीहरुको, जिज्ञासा र क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । उनले फाउण्डेशनको भावी योजनाबारे बताउँदै बालबालिकाहरुमा सानै उमेरदेखि वैज्ञानिक सोच संस्कृतिको विकास गर्दै प्रविधिमय वातावरणको निर्माण गरी उद्यमशीलताको क्षेत्रमा काम गर्ने उल्लेख गरे ।
फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ । फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो ।
त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकिएको फाउण्डेशनले जनाएको छ ।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ । यस अघि एष्ट्रोनोभा फाउण्डेशन नेपालले मकवानपुरका दुई विद्यालयमा एकैपटक निशुल्क रोबटिक्स र अटोमेशन सम्बन्धि कार्यशाला समे गरिसकेकाे छ । हेटौंडाको नवोदय शिशु सदन इङ्लिस बोर्डिङ् स्कुल र बालजागृती इङ्लिस बोर्डिङ स्कुलमा ६ दिने उक्त कार्यशाला गरेकाे थियाे ।
विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षासहित विभिन्न समयमा विभिन्न कार्यशाला आयोजना गरिदै आएकाे फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । उनले सानै उमेरदेखि विद्यार्थीहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न कार्यशाला प्रभावकारी हुने समेत बताए ।