मकवानपुर । बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने भएकाे छ । बागमती प्रदेश मन्त्रिपरिषद्काे बुधबारकाे बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेकाे हाे । बैठकले प्रदेश भ्रमण वर्ष २०२४ घोषणाको आन्तरिक तयारीकाे लागि संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकिएको छ ।
यसैगरी बैठकले पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरेकाे छ ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे अध्यक्षतामा बसेकाे मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय सँगै विभिन्न ७ वटा निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी जाजरकाेट र रुकुममा गत शुक्रबार गएकाे भुकम्पबाट पिडितलाई राहतका लागि कर्णाली प्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेकाे छ । गत शनिबार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका थिए ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय समेत गरेकाे छ । ५ वटा मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएकाे प्रवक्ता श्रेष्ठले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हाे । यसअघि गत असोज १५ काे मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरि सकेकाे छ ।
यसैगरी प्रदेश निजामति ऐन, २०७९ काे व्यवस्था अनुसार अधिकृत स्तर एघारौँ तहमा तह बृद्धि भएका ३ जना अधिकृत तहका कर्मचारीकाे नियुक्ति र पदस्थापन गर्ने समेत निर्णय गरेकाे छ । एघारौ तहमा बढुवा भएका सबै प्राविधक सेवाका कर्मचारी रहेकाे बताइएकाे छ ।
त्यस्तै उपसभामुख अप्सरा चापागाईँको अस्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालय हेटौँडाको सबलीकरणका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालय सबलिकरण कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए ।