मकवानपुर । बागमती प्रदेशमा कृषि क्षेत्रबाट उत्पादन गरेको सवै वस्तु ६६ दशमलव ४ प्रतिशत कृषकले घरायसी उपभोगमा खर्च गर्ने गरेका छन् । कृषि पेशबाट प्राप्त हुने केही कृषि उपच बिक्री गर्ने २५ प्रतिशत रहेकाे एक तथ्याङ्कले देखाएकाे छ । यस्तै केही घरायसी प्रयाेजनकाे लागि राख्ने बाँकी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत रहेका छन् भने कृषिबाट उत्पादिन सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव ९ प्रतिशत रहेका छन् ।
हेटाैडामा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा बामगमती प्रदेशमा करिव ५६ प्रतिशत परिवार कृषि आम्दानीले खान नपुग्ने रहेका छन् । तथ्याङ्क अनुसार प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान नपुग्ने परिवार ५५ दशमलव ९ प्रतिशत रहेकाे देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र रहेकाे देखाएकाे छ ।
कृषि गणना, २०७८ काे प्रतिवेदनमा उल्लेखित तथ्याङ्क समेटिएकाे छ । नेपाल राज्यभर भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारकाे आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।
तथ्याङ्क अनुसार कृषिमा पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । तर पनि कृषि पेशालाई प्रमुख पेशकाे रुपमा अपनाउन नसकेकाे तथा झारा टराइ खेती लगाउने प्रचलन बढेकाेले कृषि पेशमा आश्रीत परिवार घट्दै गएकाे देखिन्छ ।
यसैगरी बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्रयाक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले जानकारी दिए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भएकाे तथ्याङ्कले देखाएकाे छ । तर बाली सघनता भने घटेकाे छ । वर्षमा २ पटक भन्दा बढी बाली लगाउन सकिने अवस्थमामा दाहाेर्याए बाली लगाउने चलन प्रायः हराउन थालेकाेले वर्षमा बढीमा बाली २ पटक मात्रै लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार भन्दा घरपरिवार संख्या रहेकाेमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताए ।
उनका अनुसार प्रदेशमा २ लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषि चलनमा प्रयोग भएको छ । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ पटक सम्म बाली लगाएको पाइएको कार्की बताउँछन् । प्रदेशमा बगैँचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा १ हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको उनले बताए ।
त्यस्तै, प्रदेशमा गाईगोरुको पालन घट्दो छ । २०६८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ । गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र संगुरबंगुरको संख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो समय कृषकमा महिलाको संख्या भने बढ्दो क्रममा रहेकाे छ । विगत तीन दशक देखिको तथ्याङ्कले समेत महिला कृषकको संख्यामा बृद्धिभएको निर्देशक कार्कीले जानकारी दिए ।
नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । युवा जनशक्ति पुरुष पढ्न तथा कामकाे शीलशीलामा विदेसिएकाले समेत कृषीमा महिलाकाे सहभागिता बढ्दै गएकाे अनुमान गरिएकाे छ ।
यसैगरी बागमतीमा ४८ प्रतिशत कृषकले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको बताइएकाे छ ।