मकवानपुर । बागमती प्रदेशेका राजधानी हेटौडामा यू २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।एफसी मुण्डियाल क्लब हेटौंडाको आयोजनामा प्रतियोगिता हुने हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
मंसिर ५ गते देखी १३ गते सम्म हुने प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्लाका ११ वटा टिम सहित १४ वटा टिमले प्रतिस्पर्धा गरिने जनाइएको छ । स्व. सुदर्शन घिमिरे स्मृतिमा हुन लागेकाे प्रतियाेगिताकाे नारा ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने रहेकाे छ । सर्वाधिक राशी सहित मकवानपुर जिल्लाका युवा लक्षित खेलाडीको प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिन लागिएको कार्यक्रम संयोजक सुदीप सिं ठकुरीले बताए ।
विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने उनले जानकारी दिए । विधागत तर्फ उत्कृष्ट हुनेले ५ हजार प्राप्त गर्नेछन् भने म्यान अफ द म्याचमा प्रत्येकले २ हजार ५ सय प्राप्त गर्ने एफ.सी मुण्डियालका अध्यक्ष सुविन घिमिरेले बताए ।
प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नव जागृति यूवा क्लब सिमरा, वीरगञ्ज स्पोटर्स पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र आयोजक एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने एफसी मुण्डियाल अध्यक्ष घिमिरेले जानकारी दिए । प्रतियोगिताको लागि प्रथम पुरस्कार घिमिरे परिवारबाटै सहयोग प्राप्त भएको प्रतियोगिता ‘विशुद्ध नयाँ खेलाडीको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए । मुख्य प्रायोजक हेटौंडा सिटी कलेज, सह प्रायोजक दाजुभाई स्वीट्स सहित अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाकाे प्रतियोगितामा सहयोग रहने छ । २१ वर्ष मुनीको यस प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।
प्रतियाेगितामा खर्च भएर बचत भएकाे रकम जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरिने आयोजकले जनाएकाे छ ।