मकवानपुर । सुत्केरी हुँदा पोषिलो खानेकुराको अभावमा आमा र बच्चामा पर्ने स्वास्थ समस्यालाई मध्यनजर गरेरै सरकारले सुत्केरी पोषण कार्यक्रम सुरु गरेको छ ।
हरेक पालिकामा रहेको स्वास्थ सस्था मार्फत सुत्केरी पोषण कार्यक्रम कार्यान्वयन हुदै आएको छ। पालिका प्रमुख वा उपप्रमुख तथा वडा अध्यक्षले उक्त कार्यक्रमबाट प्राप्त पोषणयुक्त खानेकुरा बाडेर कार्यक्रमको प्रभावकारिता बढाइएको देखाउने समेत गरेको पाइन्छ ।
तर मकवानपुरको एक गाउँपालिकाका वडा अध्यक्षले भने आफ्नो व्यक्तिगत खर्चमा सुत्केरीलाई पौष्टिक खानेकुरा सहयोग गर्दै आएका छन् ।
सुत्केरी अवस्थामा पोषिलो खानेकुराको अभावमा आमा र बच्चामा कुपोषण तथा अन्य स्वास्थ्य समस्या आउने भन्दै बागमती गाउँपालिका वडा नं. ८ का अध्यक्ष इन्द्रमणी तिमल्सिनाले आफ्नै खर्चमा वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गर्दै आएका छन् । उनले सुत्केरीलाई लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरू र साबुन सहयोग गर्ने गरेको बताए ।
पछिल्लो समय अध्यक्ष तिमल्सिनाले वडा नम्बर ८ शान्तिपुरकी सुमिता घलानलाई पोसिलो खानेकुरा प्रदान गरे । हालसम्म वडा भित्रका ६ जना आमा (सुत्केरी)लाई अध्यक्षले आफ्नै खर्चमा पौष्टिक आहार सहयोग गरेको अध्यक्ष तिमल्सिना बताउँछन् ।
‘वडाभित्रका सुत्केरी महिलाहरूको पोषणमा सुधार ल्याउने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको छु’ अध्यक्ष तिमल्सिनाले भने २०८१ साल असार मसान्तसम्म वडाभित्रका सुत्केरी महिलाहरूलाई पोषण सामग्री सहयोग गर्नेछु ।’
वडावासीलाई समस्या परेको वेला केही राहत होस् भनेर आफूले पाउने तलबभत्ता र केही आफ्नो ब्यक्तिगत खर्च समेतबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको उनले बताए । ‘आर्थिक अबस्था कमजोर भएका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार गर्नु पर्ने जति गर्न सक्दैनन्’ उनले भने ‘पोषिलो खानेकुराको अभावमा बालबालिकाको भविष्य र आमाको स्वास्थ्य स्थितिमा समस्या आउन सक्ने भएकोले सहयोग गरेको हु ।’
आफूले गरेको सहयोगले केही राहत पुगेपनि बच्चा र आमा प्रति परिवारले गर्ने लगानीलाई अनावश्यक खर्च नभई लगानीको रूपमा लिनुपर्ने अध्यक्ष तिमल्सिनाले बताए ।