मकवानपुर । जाजरकाेट भूकम्पबाट पीडितहरुकाे लागि बागमती प्रदेश सरकारका कर्मचारीहरुले सहयाेग गर्ने भएका छन् । भूकम्प पीडितहरुकाे राहत उद्धार र पुनः स्थापनाका लागि प्रदेश सरकार अन्तरगत कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका हुन् । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितहरूको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनः स्थापनाको लागि बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको ३ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको २ दिनको तलब र अन्य सबै कर्मचारीको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए ।
प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिव, अधिकृत र अन्य कर्मचारीहरूको उक्त दिनको तलब रकम अनुमानित १ करोड २५ लाख रुपैयाँ हुने उनले बताए । बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।