मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार भएको छ । सभाले जाजरकोट र रुकुममा गएको भूकम्पका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यस्तै, भूकम्पबाट पीडित परिवारकालागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गर्ने निर्णय गरेको छ । सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरेको छ भने जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको जिसस प्रमुख ललित बहादुर घलानले जानकारी दिए ।
यसैगरी ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ । लागु औषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको जिसस प्रमुख ललित घलानले बताए ।
‘प्रदेश नाम र राजधानी यता उता हुन्न’
जिल्ला समन्वय समितिको सोमबारको नवौं जिल्ला सभाको उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र नाम बागमतीलाई यताउता नहुने बताएका छन् । ‘प्रदेश राजधानी र नाम परिवर्तन गर्ने कुरा गरेको होइन्’ नवौं सभालाई सम्वोधन गर्दै उनले भने ।
प्रदेशको नाम राखिसकिएको र राजधानी बनिसकेको छ यसमा दायाँबायाँ हुदैन् उनले स्पष्ट पारे । आफूले प्रदेशको राजधानी सार्छु नभनेको उनको जिकिर थियो ।
कार्तिक पहिलो हप्ता मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएको खबर विभिन्न माध्यमबाट बाहिर आएको थियो ।
उनले काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई मात्रै स्वभाविक भएको आफूले धारणा राखेको बागमती प्रदेशको राजधानी हेटौंडाबाटै प्रष्टीकरण दिएका हुन् ।