मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाकाे १ वटा वडामा गठन भएका उपभाेक्ता समितिले वडा कार्यालयमै बैक खाता खाेलेका छन् । थाहानगरपालिकाकाे वडा नम्बर ८ मा चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाको लागि गठन भएका उपभोक्ता समितिले वडा कार्यालयमै बैंक खाता खोलेका हुन् ।
८ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा गठन हुने उपभोक्ता समितिको खाता सञ्चालनका लागि बैंकसँग सहकार्य गरेर वडामै खाता खालिने सुविधा उपभाेक्तालाई उपलब्ध गराएकाे हाे । वडा कार्यालयले खाता सञ्चालन शिविर आयोजना गरेपछि उपभोक्ता समितिले वडामै खाता खोल्ने सेवा पाएका हुन् । वडाले यस किसिमको सेवा नगरमै पहिलो पटक दिएको वडाध्यक्ष हेम कुमार थिङले जानकारी दिए ।
वडा कार्यालयले महालक्ष्मी विकास बैंक पालुङ शाखासँग सहकार्य गरेर साेमबार वडा कार्यालयमा शिविर सञ्चालन गरेको हो । शिविरमा ८ नम्बर वडाका ९ वटा उपभोक्ता समितिले बैंक खाता खोलेका छन् । उपभोक्ताहरुको सहजीकरणका लागि बैंकले सहकार्य गरेपछि उपभोक्ताहरुलाई सजिलो भएको वडाध्यक्ष थिङले बताए ।
उनले भने–‘यहाँबाट पालुङ (बैंक रहेकाेस्थान) सम्म पुगेर खाता सञ्चालन गरेर फर्कदा समितिलाई असहजताका साथै आर्थिक भार समेत पर्ने अवस्था थियाे ।’ तर अव त्यो भार उपभोक्तालाई नपर्ने भएपछि खुशी भएकाकाे उनले बताए । ‘खाता सञ्चालनका लागि उपभोक्ता समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष बैंकमा नै अनिवार्य उपस्थित हुनु पर्ने अवस्था रहेकाे छ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने १५ मध्ये ९ वटा योजनाको उपभाेक्ता समितिकाे शिविरकै अवसरमा सम्झौता भएको वडा सचिव तथा प्राविधिक सीताराम ढकालले जानकारी दिए ।
‘घरछेवैको वडा कार्यालयबाट बैंक तथा योजना सम्झौताको सेवा पाएपछि स्थानीयहरु खुशी छन्’ थिङले भने ‘नागरिकलाई गाउँ गाउँमा सिहदरबारको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता गरेकाे छु ।’ शिविरका लागि सहयोग र सहकार्य गर्ने महालक्ष्मी विकास बैंक पालुङ शाखालाई धन्यवाद दिदै वडाध्यक्ष थिङले जनमुखी कामलाई निरन्तरता दिने बताए ।