मकवानपुर । मकवानपुरको मनहरी गांउपालिकाले प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा फेरि भेटौला कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा स्वागत तथा फेरि भेटौला कार्यक्रम गरिएको हो ।
सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई स्वागत र सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सरुवा भएका मोहन श्रेष्ठलाई बिदाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीले कर्मचारी व्यवस्थापनमा बिशेष ध्यान दिन र सबै वडाको विकासमा ध्यान दिन कार्यकारी प्रमुख सुवेदीलाई निर्देशन दिए। कर्मचारीको सरुवा प्रक्रियालाई स्वभाविक रुपमा लिंदै कार्यक्षमतामा ध्यान दिन आग्रह गरे ।
यसैगरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीले कर्मचारी र जनप्रतिनिधिबिचको समन्वयले पालिकाको समग्र विकासमा ध्यान दिन संभव भएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रुपमा आएका सुवेदीले आफ्नो काममा स्पष्टता र दक्षतामा ध्यान दिने बताए । यसैगरी सरुवा भएका कार्यकारी श्रेष्ठले मनहरी गाउंपालिका समग्र कार्यप्रगतिमा समन्वय र सहकार्य रहेको र त्यो सिकाई बोकेर आफू बिदाई भएको बताए । ‘पालिकाले भौतिक पुर्वाधार विकासमा फड्को मारेकोमा गौरव लागेको छ’ श्रेष्ठले भने ।
कार्यक्रम पालिकाका वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईले बिगतमा समन्वय र सहकार्य उत्कृष्ट भएको बताउंदै आगामी दिनमा पनि उस्तै उत्कृष्ट समन्वयको अपेक्षा रहेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिव तथा अन्य कर्मचारीहरूकाे समेत उपस्थिति रहेको थियो ।