मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का नेता जगन्नाथ थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहदै तत्काल राहत र उद्धारको काममा लाग्न अनुरोध गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता थपलियाले आज एक अपिल पत्र जारी गर्दै भूकम्पमा परी कयौं व्यक्तिहरु बेपत्ता भइरहेको, स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएको तथा मध्यरातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएकोले स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था समेत नरहेको उललेख गर्दै यस्तो बेला बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा अपिल गरेका हुन् ।
“कार्तिक १७ राती पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,साथै उक्त भूकम्पमा परी घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु” उनले अपिलमा भनेका छन् ।
घटनामा कयौं व्यक्तिहरु बेपत्ता भइरहेको भन्दै स्वास्थ्य केन्द्र र अस्पतालहरु बिरामीले भरिएकोले उद्वार राहतमा ध्यान दिन उनले सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार मध्य राति भूकम्प गएकोले ६.४ रेक्टर स्केलको भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिम जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या १५० पुगेको छ । उत्तिकै संङ्ख्यामा घाइते भएका छन् ।
“बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा हार्दिक अनुरोध गर्दछु” थपलियाले भनेका छन् ।