मकवानपुर । मकवानपुर जिल्लामा आगामी पुसको पहिलो साता खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो ।
आयोजकले महोत्सवको लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त गरिसकेको समिति अध्यक्ष वेष खड्गीले बताए । महोत्सवका लागि आवश्यक शान्ति सुरक्षाको जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।
मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिने खड्गीले बताए ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा उसु (राष्ट्रिय महिला र पुरुष) भलिबल (राष्ट्रिय महिला) कबड्डी (प्रदेश स्तरीय आमन्त्रित, महिला र पुरुष) कराँते (जिल्लास्तरीय महिला र पुरुष) फुलकन्ट्याक्ट कराँते (जिल्ला स्तरीय महिला र पुरुष) एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय) आर्चरी (खेल प्रदर्शन) रेस्लिङ (आमन्त्रित राष्ट्रिय) कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन) व्याडमिन्टन रहने खड्गीले बताए ।