मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम फडानीलाई तीव्रता दिएको छ । प्रहरीले ४ दिनमा १ सय ६० बिगाहा जग्गामा लगाएको गाँजा तथा अफिम फडानी गरिएकाे मकवानपुर प्रहरी प्रबक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर प्रहरीले कार्तिक १२ गते देखी गाँजा तथा अफिम फडानी सुरु गरेकाे हाे । गाँजा तथा अफिम फडानी अभियान अन्तरगत पहिलो दिन कात्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, कार्तिक १३ गते ६१ बिगाहा, ३ कठ्ठा र कार्तिक १४ गते ५७ बिगाहा १५ कठ्ठा तथा कार्तिक १५ गते ३७ विगाहा १५ कठ्ठा जमिनमा लगाइएकाे गाँजा फडानी गरिएको भण्डारीले बताए ।
प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा,वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे क्षेत्र वडा नम्बर–३ सरीखेत पलाँसे कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार,आपचौर,भोगटार,र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा लागूऔषध गाँजा फडानी गरेको उनले बताए ।
यसैगरी राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ राक्सीराङ– १ र २ मा फडानी गरिएको छ । त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी फडानी गरिएको बताईएको छ ।
भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि गत आइतबार १ सय ३७ जना प्रहरी टोली परिचालन गरेको थियो । जिल्लाकाे कैलाश, राक्सिराङ्ग, भीमफेदी, मनहरी गाउँपालिका तथा थाहानगरपालिकामा गाँजा खेती हुदै आएकाे छ ।