मकवानपुर । मकवानपुर जिल्लाकाे जिल्ला न्यायधिश मनकुमारी जी एम बिकले बेचविखन नियन्त्रण तथा पीडितलाई न्याय दिन सबै पक्षकाे समन्वय अत्यावश्यक भएकाे बताएकी छिन् । मानव बेचविखन नियन्त्रण तथा पीडितलाई न्यायको आभाष दिलाउन विभिन्न सामाजिक साँस्कृतिक परम्परा पनि बाधकको रुपमा रहेकोले सबै पक्षकाे सहकार्य र समन्वय जरुरी रहेकाे उनले बताएकी हुन् ।
मानव बेचविखन नियन्त्रणका लागि न्याय क्षेत्रको सरोकारवालासँगको समन्वय बैठकमा न्यायधिश बिकले यस्तो बताएकी हुन् । पीडितमाथि भएको क्षति, सामाजिक पुनस्र्थापनामा सहज पुर्ति भएमा मात्रै पनि केही हदसम्म अदालतको गरिमा र विश्वास बढ्ने उनले बताइन् ।
सामाजिक संरचना अनुसार गोपनीयताको सवाललाई ध्यानमा राखेर पनि जाहेरी दरखास्त दर्ता नहुने गरेको उनले बताइन् । “एकातिर अदालतको झण्झटिलो प्रक्रिया झेल्न आँट सबैले गर्दैनन् अर्कोतिर प्रतिवादी पक्राउ नपर्दा पनि मुद्दा फिर्ता लिने गरेको मैले कामको शिलशिलामा अनुभव पाएको छु” उनले भनिन् ।
अनुसन्धनको क्रममा महिला कर्मचारी नहुदाँ पनि पीडितहरु न्यायको लडाइँमा नआउने गरेको, आर्थिक अवस्था, पीडकबाट हुने डर धम्की, अशिक्षा जस्ता कारण पनि न्यायको लागि पीडितहरु अदालतसम्म नआउने गरेको उनले बताइन् ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) र शान्ति फाउण्डेशनको आयोजनामा हाम्रो सम्मान परियोजना अन्तरगत पीडित केन्द्रीत न्यायको सवालमा अनुभव आदनप्रदान गरिएको थियो ।
बैठकमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य सेडाइले वैदेशिक रोजगारीको क्रममा हुने बेचविखन र ठगीमा पीडित आफैंले विकल्पको खोजि नगर्दा समस्या हुने गरेको बताए । पर्याप्त जानकारी नलिई, कागजपत्रको सुरक्षामा ध्यान कम दिंदा समस्या हुने गरेको उनले बताए । यस्ता समस्या जनचेतनाको अभिवृद्धिबाट मात्रै संभव भएको भन्दै उनले सचेतनाको पाटो सशक्त पार्न गैसस र नागरिक समाजसँगको सहकार्यलाई अझै ध्यान दिने बताए । अदालतको प्रक्रियामा रहेका मुद्दामा प्रमाण संकलनको पाटोलाई छिटो छरीतो पार्न सकेमा न्याय सम्पादनमा सफल हुन सकिने प्रजिअ सेडाइले बताए ।
यस्तै जिल्लामा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले कतिपय मुद्दाको प्रमाण खोज्दै जाँदा जाहेरीमा उल्लेख भएभन्दा अरु नै प्रमाण भेटिने गरेको गुनासो गरे ।“गुम्बामा पढ्न गएकाहरुलाई पनि बेचविखन भनेर मुद्दा बनाइन्छ, जो पछि फेरी अभिभावककै साथमा गुम्बामा पुग्दछन्, सबै मुद्दालाई बेचविखनको डालोमा राख्ने गर्दा समस्या छ” उनले भने ।
यसैगरी जिल्ला बार एशोसियन अध्यक्ष अप्सरा बस्नेत तथा माइती नेपाल मकवानपुर प्रमुख माया लामाले पछिल्लो समय बाह्य बेचविखनभन्दा आन्तरीक बेचविखनमा चुनौति बढेको बताए । पीडितलाई कानूनी क्षति भराउने व्यवस्था भएपनि कानुनी लडाइमा आउने विभिन्न अड्चनहरु खेप्न पीडितहरु तयार नहुने गरेको कारण समस्या भएको अध्यक्ष बस्नेतले बताइन् ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार अपराध मुद्दालाई उठान गरी न्यायिक प्रक्रियामा लैजान र पीडितको न्यायनमा पहुँच अभिवृद्धि गर्न सरोकारवालाहरु बीचको समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने सवालमा छलफल गरिएको थियो । बैठकलाई सेलर्डका अधिवक्ता सुखदेव सापकोटाले सहजिकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा ११ वडा अध्यक्ष जुना दहालले बेचविखन विरुद्धको न्यायको सवाल, न्यायिक प्रक्रियाबारे विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, जिल्ला न्यायधिक्ता राजन हमाल, श्रेस्तेदार लेखनाथ पौडेल,सहायक जिल्ला न्यायाधिबक्ता राजेन्द्र मणी पौडेल, वैतनिक अधिवक्ता रमिला चौलागाई, सेलर्डमा कपिल अर्याल,रत्न श्रेष्ठ, प्रकृति कार्की शान्ति फाउण्डेशनकि सिता गुरुङलगायतको उपस्थिती रहेको अधिवक्ता मनप्रसाद भट्टराइले जानकारी दिए ।