राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् ।
एंगोलाको लुवान्डामा आयोजित अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४७औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परीक्षण हुँदै आएको बताएका हुन् ।
उनले नेपालले दिगो विकास लक्ष्यहरूलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरिएको बताए ।
अध्यक्ष तिमिल्सिनाले विश्वका ज्वलन्त समस्याहरूको समाधान गर्दै दिगो र समुन्नत भविष्य निर्माण गर्न शान्ति र न्याय कायम गर्नु र हाम्रा संस्थाहरूलाई खुला, प्रभावकारी, पारदर्शी, समावेशी र प्रतिनिधिमूलक बनाउनु अपरिहार्य भएको कुरामा जोड दिए ।
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग विवेकहीन काम भएको जिकिर गरे । मानव जातिले शान्ति र न्यायका लागि नभई शक्ति प्राप्तिका लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने धारणा उनले राखे ।
‘विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति मात्र हाेइन पृथ्वीको नै अस्तित्व समाप्त हुने गरेर आणविक शस्त्रअस्त्र निर्माणमा प्रयोग भइरहनु विवेकहीन कार्य हो, यो जायज छैन,’ उनले भने, ‘शक्तिसम्पन्न राष्ट्रले गरिब र कमजोर राष्ट्रहरूमाथि विभिन्न बहानामा गर्ने आक्रमण, थिचोमिचो र दमन शान्ति र न्यायको लागि खतरा बनेको छ ।’ नयाँपत्रिकाडेली डटकमबाट