मकवानपुर । नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज विजया दशमी पर्व मनाइदैछ । बडा दशैको मुख्य दिन, देवी दुर्गा भवानीके प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइने गरिन्छ ।
मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु विजया दशमीकाे विशेषता हो । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाए पछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ । समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।
दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । आजबाट शुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।
विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। जमरा र टीका देवी दूर्गालाई चढाएपछी टिकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोजकाे २८ गते घटस्थापनादेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएकाे हाे। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो यस वर्षकाे बडादसैँ पर्व समाप्त हुनेछ ।