एसटीएनएम अस्पतालमा बिमारी हेर्न जाॅदै थिए प्रदीप र दीपिका। सुन्नमा आयो सुपर स्पेसलिटी अस्पतालका लिफ्टहरू सबै मरणासन्न अवस्थामा छन्, लाग्छ उनीहरू आफैँ बिमार छन्। आठ तला सिँडी चढेर बिमारी राखिएको ठाउँमा पुगे । बिमारीको अवस्था ठिकै थियो आफैँ पो बिमारी भएको महशुश गरे !
निकैबेरको भलाकुसारीपछि भोलि छुट्टी हुन्छ भन्ने थाहा पाएर बिदा लिई सिँडी झर्दै गर्दा दीपिकाले गनगनिँदै भनिन्,- “अस्पतालको नाम चैं सुपर स्पेसलिटी तर कुनै स्याहारसुसार छैन, दस दस वटा लिफ्ट छन् एउटा पनि ढङ्गले चल्दैन। मेन्टेनेन्स त गर्नु नि ।”
” के भन्छ्यौ दीपु…. ? यी हेर न हाम्रो मानसिकता, जताततै मैला! पाइखाना त पसिसक्नु छैन, पान खाएर थुकेर भित्ता हेरिसक्नु छैन, सरकारले बनाएर मात्र के गरोस्, हाम्रो पनि त जिम्मेवारी हुन्छ !” प्रदीप उल्टै गनगनियो।
“सय प्रतिशत साक्षर राज्यको हालत यस्तो छ भने… । ” दीपिकाको भनिन्।
दुवै हातमा आठ-दशवटा मिठाइका झोला बोकेर पहिलो तलाबाट सिँढी चढेर सातौँ तला प्रवेश गरेका थकित सज्जन खुइय– गर्दै प्रदीपलाई देखेर मुस्कुराएर नमस्कार ! भन्दै हात मिलाए अनि सोधे हजुरको, कोही बिरामी हुनुहुन्छ ?” सज्जनले औपचारिकता निभाए ।
“आफन्त हुनुहुन्छ भेटेर फर्किएका।” प्रदीपले उत्तर दिँदै प्रतिप्रश्न गरे , “हजुरको को हुनुहुन्छ ?”
” छोरी सुत्केरी भएकी छन् ! ” उनले भने।
” त्यसो भा’ त खुशीको पो कुरा रहेछ, बधाई छ हजुर बालाई ।” प्रदीपले बधाई दिए । उनको अनुहारमा अझ कान्ति छरियो, दीपिकाले स्पष्ट देखिन् , “बधाई है सरलाई ” भनेर दीपिकाले पूरा गर्न नपाउँदै सज्जनले भने, “खुशी पनि एउटा मात्र कहाँ हो र गुरुमा ! डबल पो छ, त्यो पनि छोरै छोरा !” “ए त्यसो भा’ डबल बधाई है सर” प्रदीपले फेरी भने । सज्जनले मिठाईको एउटा प्याकेट प्रदीपलाई थमाउँदै सिंढीमै खुसी साटे । डाइबिटिज मान्छेलाई मिठाई! खुशी त प्रदीपको पनि डबल भयो, “धन्यवाद सर” भनेर समाए ।
दीपिकाको मनमा कुरा खेलिरह्यो, छोरै छोरा —–
छोरी थिइन र त छोरै छोरा —–
छोरी छोरी भएका भए ती सज्जन आठ तला के मिठाई बोकेर चड्ने थिएनन् कि ? कि गएर छोरीलाई अझ एउटा छोरा जन्माउने सल्लाह दिन्थे !!
हामी कुन शताब्दीतिर छौँ ?
छोरा छोरा हो ! छोरी छोरी हो !
दुवै प्रकृतिका बराबरी देन हुन् ।
एकबाट मात्र संसार चल्छ र ?
कि हाम्रो मानसिकता यस्तो हो?
गाडीमा पुगेर प्रदीपले मिठाईको प्याकेटबाट पहिला रञ्जनलाई टिप्न लगाए अनि दीपिकालाई टिप्ने आग्रह गर्दै भने,- “मेरा मित्रका जम्ल्याहा नातिहरू भएको खुशीमा मिठाइ त खानै प-यो ।”
प्रदीप गाईप्राणी ! उनका मित्रको आशय बुझेनन् तर दीपिकाको मनमा उठेको प्रश्न प्रश्न नै रह्यो ! जवाफ कस्ले दिने ? मिठाई हातमा लिएर टोह्लाइरहिन्……।
गान्तोक, सिक्किम[