मकवानपुर । साहित्य सङ्गम चितवनले प्रकाशन गरेको `नौलो राँको´ विशेषाङ्क विहीबार विमोचन गरिएको छ । पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा संगमले `नौलो राँको´ विशेषाङ्क प्रकाशन गरेको हो ।
साहित्य सङ्गम चितवनका पूर्वअध्यक्ष नेपालको निधन भएपछि संस्थाले उनको सम्झनामा विशेषाङ्क नौलो राँको प्रकाशन गरेको प्रधान सम्पादक शशिकिरण रेग्मीले बताए ।
नेपालका बुवा नीलप्रसाद नेपाल, श्रीमती पार्वती नेपाल, भाइ शालिग्राम नेपाललगायतले नौलो राँको विमोचन गरेका हुन् । बिमोचन कार्यक्रममा एलवी क्षेत्रीले कविता लेख्नु र कविता बुझ्नु फरक विषय भएको बताउदै आफूलाई कवि हो भनेर नभनी कविताको गहिराइमा पुगेर लेख्न सक्ने क्षमता द्वारिकामा भएको बताए ।
समालोचक उदय अधिकारी र रमेश प्रभातले नेपालको सरलता र असहजलाई सहज बनाउने क्षमताले नै उनको व्यक्तित्व उचाइमा पुगेको बताए । उनको लेखनशैली उत्कृष्ट र यथार्थ भएको अधिकारीले बताए ।
कार्यक्रममा साहित्यकार प्रा. होमनाथ सापकोटा, प्रेम रिमाल, धनेश्वर भट्टराई, गणेश श्रमण, बालकृष्ण थपलियाले नेपालको व्यक्तित्वका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका बुवा नीलप्रसाद नेपालले समयको महत्वलाई बुझेर काम गर्न आफूले दिएको शिक्षाको पालना छोराले गरेको बताए ।
पत्रकार द्वारिका नेपाल गजल मञ्च चितवन, अक्षर समूह चितवनलगायतका संस्थामा आवद्ध थिए । उनको २०७८ असोज ३१ गते निधन भएको हो ।
सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईँको सभापतित्वमा भएको कार्यक्रममा सङ्गमले प्रकाशित गरेको विशेषाङ्कमा विभिन्न साहित्यकारले नेपालको व्यक्तित्व पक्षहरुलाई समेटेर चर्चा गरिएका सामग्री समेटिएका छन् ।