मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । नेपालीहरूको धर्म, संस्कृति, सौहार्दता र आत्मीयतालाई प्रदर्शित गर्ने चाडपर्व सर्वसाधारण नागरिकले सुरक्षित, भयरहित एवं उल्लासमय रुपमा मनाउन सक्ने वातावरण सृजना गर्ने उदेश्यले सुरक्षा योजना कार्यान्वयन गर्न लागिएकाे कार्यालयले जनाएकाे छ ।
भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पर्ने दुःख, समस्या र गाडीमा भएको आरक्षण सिट उचित रूपमा पालना नभएको र भाडामा ठगिने यी कुराहरू भएका छन् या छैनन् भनेर यात्रुमैत्री अभियानका क्रममा प्रदेश प्रहरी कार्यालयबाट चाडपर्व लक्षित अनुगमन हुने उनले बताए । चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने अपराधका सम्भावित स्थानमा सर्च गर्ने गरी तयारी थालिएको छ ।
प्रवक्ता रेग्मीका अनुसार प्रदेशभर १ सय १६ जना क्यूआरटी परिचालन गरिएको छ । जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको छ । आकस्मिक हुने घटनाहरूको लागि थप जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न प्रहरी र ट्राफिक मिलेर प्रदेशका सम्भावित दुर्घटना स्थलहरू नजिकै संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ
विशेष अवस्थामा विगतका चाडपर्वमा के कस्ता घटना घटेका छन् ? त्यसलाई विश्लेषण गरेका छौँ रेग्मीले भने । अहिलेको चाडपर्वमा के थ्रेट हुनसक्छ, के जोखिमहरू हुन सक्छन्, त्यो लोकल वातावरणमा के सुरक्षात्मक समस्या हुन सक्छन् भन्ने विषय सबै विश्लेषण गरेर सुरक्षा योजना बनाइएकाे उनले जानकारी दिए । प्रवक्ता रेग्मीका अनुसार जिल्लागत रूपमा पनि सुरक्षा योजना बनाइएकाे छ ।
चाडपर्वमा जिल्ला जिल्लामा नागरिकको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना अपनाएको छ । सडक दुर्घटना न्यूनीकरण, विपद्का घटनामा पनि हामीले ध्यान दिएका छौँ । चोरी, लुटपाट र पाकेटमारप्रति हामी केन्द्रित भएका छौँ उनले भने । ‘सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैङ्क तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाइएको छ’, उनले भने ।