चितवन । कवि गणेश श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहको गृह विमोचन गरिएको छ । बुधबार कविहरू एलबी क्षेत्री, केदारनाथ खनाल, उदय अधिकारी, रमेश प्रभात र डाक्टर हेमनाथ घिमिरेले उक्त पुस्तककाे विमोचन गरेका हुन् ।
सम्पूर्ण किताब नारायणगढमा गरिएकाे विमाेचनमा कार्यक्रममा बोल्दै समीक्षक रमेश प्रभातले कवि गणेश श्रमण गतिशील व्यक्तित्वका लेखक भएको बताए । `गाउँको परिवेशमा रमाउन जानेका कविले ‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रहमा गाउँको चित्रण गरेका छन्’ प्रभातले भने । विभिन्न बाहना बनाएर गाउँका मानिसहरू सहर पस्नेक्रम हिजोदेखि आजसम्म निरन्तर रहेको धारणा राखेको समीक्षक प्रभातले बताए । `यसले गर्दा गाउँ रित्तो रित्तो भएको छ । यसरी रित्तो भएको गाउँमा विकास कसरी सम्भव हुन्छ ? भनेर कविले खोतल्ने काम गरेका छन् ।´, उनले भने ।
त्यसैगरी अर्का समीक्षक उदय अधिकारीले कवि गणेशका कविता सरल र स्पष्ट भएको धारणा राखे । `समाज र राजनीतिको सरल चित्रण उनका कवितामा देख्न पाइन्छ । उनले कवितामार्फत यी कुरा प्रष्टरूपमा उल्लेख गरेका छन् ।´, अधिकारीले भने ।
त्यसैगरी कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गणेशका कवितामा समेटिएका विषयवस्तु फराकिलो रूपमा आएको बताए । उनले गणेशका कविता काव्यिक मात्रै नभएर आख्यानका रूपमा पनि पढ्न सकिने बताए । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले गणेशका कविता उत्कृष्ट भएको प्रतिक्रिया दिए । `कविले कवितामा मेहनत गरेका छन् । पाठकलाई वास्तविक कविताको स्वाद पस्किन कवि सफल देखिएका छन् ।´, थपलियाले भने ।
कार्यक्रमका सभापति सम्पूर्ण किताबका प्रमुख लेखराम सापकोटाले कवि गणेश श्रमणका कवितामा काव्यिक रस भएको बताउँदै कविता पारखीले यो सङ्ग्रह चाख दिएर पढ्ने अनुमान गरे । गणेशका कविताहरूले राष्ट्रिय रूपमा चर्चा बटुल्ने पनि सापकोटाले दाबी गरे । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई प्राध्यापक एवम् सञ्चारकर्मी गोविन्द रिमालले सहजीकरण गरेका थिए ।
नेपाली कविता र लघुकथाका क्षेत्रमा क्रियाशील रहेका लेखक गणेश श्रमणको पहिलो प्रकाशित कृति ‘शब्दहरू अविराम यात्रामा’ हो । २०५७ सालमा प्रकाशित यो संयुक्त कवितासङ्ग्रहमा कवि गणेशसँगै सुरेन्द्र अस्तफल, नवराज ढुंगाना, प्रभा बराल, रमेश प्रभात, दीपकप्रसाद गौतम, लक्ष्मी ढकाल बास्तोला, गोपाल पौडेल, प्रकाश थापा र बुद्धिनाथ अधिकारीका पनि कविता छन् । त्यसपछि एकल कविताका कृतिहरू ‘शब्दक्रान्ति’ (२०६६) र ‘आगो लिएर गाउँ गाउँमा’ (२०८०) हुन् । त्यस्तै उनको लघुकथाको कृति ‘गुलियो काठमाडौँ’ (२०७५) प्रकाशित छ ।