मकवानपुर । कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खाद्यान्न सहयाेग गरेकाे छ । नेपालीहरुको महान चाड दशैंकाे उपलक्ष्यमा पालिकाले खसी र खाद्यान्न कारागारका कैदीबन्दीलाई उपलब्ध सहयाेग गरेकाे हाे ।
पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले दशैंकाे लागि २ वटा खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष मुक्तान गाउँपालिकाका कर्मचारीसहितको टोलीले कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । अध्यक्ष मुक्तानले कारागारमा रहेकासँग भ्रातृत्वको सम्बन्ध स्थापित गर्न र कैदीबन्दीमा सकारात्मक भावना जागृत गराउन शुभकामना आदानप्रदान गरी खसी र खाद्यान्न उपलब्ध गराइएको बताए ।
कार्यक्रममा पालिका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पुर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो । २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको कारागारमा हाल १ हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् ।