मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा सुरक्षा व्यवस्थामा कडाई गर्दै आएकाे छ । मकवानपुर प्रहरीले जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुर सहितको जाँच सुरुवात गरेको जनाएकाे छ । प्रहरीले असोज २१ गते आइतबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेकाे थियाे ।
राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर सहितको विशेष सुरक्षा जाँच गर्न थालिएकाे हाे । असोज २९ गतेदेखि जिल्लाकाे हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्टमा बागमती प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यलय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेले तालिम प्राप्त कुकुरसहितकाे जाँच गर्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीले नेपालीकाे दशैं तिहारलगायतकाे चाडपर्वलाई लक्षित गरी मकवानपुर जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित बस्तुहरु पटका, लागु औषध, भन्सार छलीका समानहरुलगायत अन्य बिष्फोटक पदार्थहरु समेत ओसारपसार हुन सक्ने भएकोले तालिम प्राप्त कुकुरसहितको विशेष चेकिङ शुरु गरिएको भण्डारीले बताए ।
यसअघि मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गर्दै हेटौंडा १४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उदेश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेका छ । साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत गरिएकाे छ ।
चाडपर्व लक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरु बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरुमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरुलाई जानकारी गराउने गरिएकाे उनले बताए । प्रहरीहरु सुरक्षा नाका,अस्पतालका बिरामी रेफर,लामो दूरी सवारी चेकजाच, यात्रु सहायक कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ४० जनाको ‘क्वीक रेस्पोन्स टोली बनाई गस्ति र चेकजाच गरिरहेको छ । चाडवाड लक्षित सुरक्षा योजनाका लागि ८ सय १४ जना प्रहरी परिचालन गरिएकाे मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।