मुग्लान पसेर सदा वर्ष झैं दसैँमा घर आउने भिम बहादुर आफैं बिरामी परेको चिट्ठी आएपछि मनमाया चिन्तित हुन पुगिन् । मुखैमा आएको दसैंले उनलाई थप चिन्त्तित तुल्यायो । नानिहरूलाई जसोतसो एक सरो लुगासम्म सिलाइदिन भ्याइन् तर मासु कसरी खुवाउने भन्ने चिन्ताको समाधान गर्न छिमेकीहरूलाई आफ्नो बाध्यता देखाउने क्रममा सिरान घरे साहिंलाले आफ्ना पाहुना धेरै आउने भनेर तर्किए ।
उपल्लाघरे जेठाले आफुले पनि बढो मुस्किलले एक खुट्टो च्याङ्ग्राको मासु पाएको बताए । एक दुई जनाले ‘आशा त गरे भर नपरे है ‘भन्ने सम्म झिनो आशा देखाएको हुदा अष्टमिको दिन सानो थाल लिएर पुगिन् उनी । तर च्याङ्ग्रा महँगो परेको हुँदा आफू पनि अरुसित बोकोमा सहभागी हुन पुगेको बाध्यता देखाएपछि रित्तो हात फर्किइन् ।
जेठी र माइली त जसोतसो मान्लान् तर कान्छी अलि जिद्दी छे । मासु खान पाइन भने लडिबुडी खेलेर पुरै गाउँ नै उचाल्छे, यहि सोच्दै आउँदै थिइन् ,पाइला टक्क रोकिए ,सोचिन् – बिरेको घरतिर पसुँ मनकारी छन् तर उसकी श्रीमती भोलि गाम गामै भन्दै हिड्छे, प्याच्च वचन लगाइ हाल्छे। तसर्थ उनले मुख फाल्न उचित देखिनन् । पोहर परार कै वचनले पनि मन भरिएको थियो उनको ।
आमाको निन्याउरो मुख देखेर जेठी छोरिले भनिन् – “आमा मासु नपाएको भए यहि घरको भाले काटे हुन्न र ?”
“हुन्न हुन्न ,भाले काट्ने होइन बरु त्यो थारो पोथी काटे हुन्छ” – माइलिले भनी ।
दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षिय कान्छिले भनी – “भाले पोथी बेचेर फिस तीर्न परेन ? बाबा आएपछि मासु खाउँला नि । हामीलाई आफ्नै बारीमा फलेको लौका र आलु कै तरकारी पकाएर दिए हुन्छ । दसैंमा मासु खानैपर्छ भन्ने के छ र , ?”
कास्की