चितवन । गजलकार कमल अर्याल सम्मानित भएका छन् । गजल मञ्च चितवनले शनिबार `द्वारिका नेपाल गजल स्मृति पुरस्कार- २०८०´बाट युवा गजलकार अर्याललाई सम्मान गरेको हो । अर्याललाई २५ हजार पुरस्कारको राशि भएकाे उक्त सम्मानद्वारा सम्मानित गरिएकाे हाे ।
मञ्चका पूर्व अध्यक्ष पुष्प अधिकारी अञ्जली, द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाल, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र मञ्चका अध्यक्ष लेखराम सापकोटाले दोसल्ला र सम्मानपत्रले अर्याललाई सम्मान गरेका हुन् । सम्मानित अर्यालले एकल गजल वाचन कार्यक्रममा उनले ६ वटा गजल प्रस्तुत गरे ।
सम्मानित अर्याल २०५५ सालदेखि गजल लेखनमा निरन्तर सक्रिय छन् । उनका `तिमी आउनु अघि´ (२०७१), `तिमी आएपछि´ (२०७३) र `लौरो´ (२०७५) गरी तीन वटा एकल तथा `ईप्रतिनिधि नेपाली गजल´, `हैसियत-२´, `शब्द शिविर´, `अक्षरहरूको पिरामिड´ गरी ४ वटा संयुक्तगजलसङ्ग्रह प्रकाशित छन् । त्यसैगरी अर्यालले लेखेका ६ वटा गजल विभित्र गायकको आवाजमा सांगीतिकरूपमा आएका छन् । उनी हाल काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष छन् ।
सम्मानित स्रस्टा अर्यालका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले उनकाे व्यक्तित्व र लेखनका बारेमा बोलेका थिए । त्यसैगरी मञ्चका पूर्वअध्यक्षहरू धनराज गिरी, किसान प्रेमी, गोर्खे साइलो, प्रभाकर पण्डित र रमेश प्रभातले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवम् पत्रकार भएको बताउँदै नेपाली साहित्यिक आकाशमा उनी कहिल्यै नमर्ने गरी अमर रहने धारणा राखेका थिए । `गजल मञ्च चितवनले पूर्वअध्यक्ष नेपालको नाममा पुरस्कार स्थापना गरेर उहाँलाई अमर बनाएको छ´, अञ्जलीले भने ।
मञ्चका पूर्वअध्यक्ष स्व. द्वारिका नेपालको नाममा यो पुरस्कार स्थापना गरिएको हो । २०७९ सालमा स्थापना गरिएको पुरस्कार पहिलोपटक कालिका नगरपालिका निवासी गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । गजल मञ्च चितवनमार्फत स्व. द्वारिका नेपालको नाममा रहनेगरी यो पुरस्कार स्थापना गरिएको हो । भरतपुर-५ घर भै हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका डिला खरेलले पुरस्कार स्थापना गरेका हुन् । मञ्चका अध्यक्ष नेपालको मस्तिष्कघातका कारण २०७८ असोजमा निधन भएको थियो ।