मकवानपुर । मनहरी गाउँपालिका ७ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएकाे छ । मनहरी ७ स्थित बिजौनामा कार्यालय भवन बनेसँगै सेवा सुरु हुने भएकाे छ । आईतबार ७ नम्बर वडा कार्यालयकाे नवनिर्मित भवन नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै सेवा सुरु हुने भएकाे हाे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापना भयाे’ भवन उद्घाटन गर्दै नेता बानियाँले भने ‘वडा कार्यालय भवनबाट अब जनताले सहजरुपमा सम्पूर्ण सेवा लिन पाउनेमा खुशी छु ।’ संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै नेता बानियाँले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।
लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा भएका गल्ती कमजोरीलाई क्रमशः सुधार गर्दै लानुपर्ने बताउँदै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले आउँदै गरेको चाडपर्वहरु विजयादशमी, दिपावली, छठ, क्रिसमसलगायतका चाडपर्वहरुको शुभकामना दिएका छन् ।मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष ठाकुरराम तितुङले जानकराी दिए ।
कार्यक्रममा वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा टाढाटाढाबाट अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्राहरुलाई २ लाख बराबरको २३ वटा साईकल वितरण गरिएको थियो । टाढाबाट आउने विद्यार्थीहरुलाई लक्षित गरी वडा कार्यालयले खरिद गरेको २३ वटा साइकल वितरण गरिएको हो । साइकल खरिदमा लागि वडाले २ लाख रुपैयाँ खर्च गरेको छ ।
मनहरी ७ का वडाध्यक्ष तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका कावा अध्यक्ष शिवप्रसाद खनाल, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, मनहरी शिक्षा श्रोतव्यक्ति विदुर थापा, मनहरी ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, मनहरी ७ का वडा सदस्य नवराज सुवेदी, मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, डिपार्ट सामुदायिक वन मनहरीका अध्यक्ष डम्बरबहादुर मोक्तानलगायतकाे उपस्थिति थियाे ।