मकवानपुर । युवा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम १८ करोड ८ लाख ११ हजार ५ सय ७१ रुपैयाँ पुगेको छ । गत वर्षको शेयर सदस्य संख्या २ हजार २ सय ३६ बाट वृद्धि गरी २ हजार ५ सय ९२ पुऱ्याईएको संस्थाले जनाएको छ ।
शनिबार भएको साधारण सभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले सहकारीहरू महिलाको जिवनस्तर उकास्न सहयोगी हुनुपर्ने बताएकी छिन् । युवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य श्रेष्ठले यस्तो बताएकी हुन् ।
साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलले सहकारी घर आँगनको बैंक भएको बताए । रोजगार सिर्जना गर्न देखि व्यवसायिक प्रगति पनि गरेको उनले बताए । हेटौंडा उपमहानगरपालिकाको नीति विधि र सिद्धान्तसंग मेल नखाएमा नगरपालिकाले कुनै पनि हालतमा नछाड्ने पौडेलले बताए । “सहकारीले ऋण, बचत व्याज मात्रै हैन, आम्दानीमा जोड्ने नीति ल्याउनु पर्छ, मन्दीमा सहकारीको भूमिका के हो ?” पौडेलले भने । सहकारीले काम गर्ने बानीको विकास गर्न पर्ने उनले बताए ।
कार्यक्रममा सहकारी अध्यक्ष राजुप्रसाद गौतमले आर्थिक वर्ष २०८०/२०५१ को वार्षिक लक्षित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस आवमा सहकारीले शेयर सदस्य २ हजार ५ सय ९२ बाट वृद्धि गरी ३ हजार १ सय पुन्याउने, संस्था अभिकर्ता भई सदस्य तथा कर्जा बिमा कार्य गरिने, सहकारीका कर्मचारीहरुलाई १ लाख, २ लाख र ७ लाखको विमा संस्थाले गरिदिने, काउन्टर तथा रुट विमा गरि सुरक्षाको व्यवस्था गरिने, बैंक, वित्तिय संघ संस्था संगको सहकार्य र कारोबारलाई निरन्तरता दिईने, सुविधाकर्जा वापत सदस्यको जम्मा बचतको ८० प्रतिशत जुनसुकै बेलामा पनि उपलब्ध गराईने र सो कर्जामा सेवा शुल्क नलाग्ने, कर्जा लगानीको सिमा संस्थाको प्राथमिक पुजिकोषको आधारमा नियमानुसार गरिने योजना रहेको अध्यक्ष गौतमले बताए । यसैगरी संचालक समिती, उप समिती तथा शेयर सदस्यलाई उत्कृष्ट सहकारी अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिने गौतमले बताए । १५ हजार शेयर रकम नपुगेका सदस्यलाई पुर्याउनका लागि पहल गर्दै शेयरको माथिल्लो सिमा एक लाखसम्म प्रति सदस्य शेयर दिइनेछ । कर्जाको समय सिमालाई कर्जाको प्रकृति हेरि १ वर्ष देखि १० वर्षसम्मको समय सिमा कायम गरिएकोछ । सहकारीले विभिन्न बिधाम उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान समेत गरेको छ ।