मकवानपुर । हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावितकाे लागि मनाेचिकत्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी २५ बेडकाे मनोचिकित्सा वार्ड सञ्चालन गरिएको हो ।
मनाेचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका छन् । ‘हेटौडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिनेछ’ उद्घाटन पछि मन्त्री जोशीले भने ‘मानसिक स्वास्थ्यका कारण आत्म हत्या बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको हाे ।’ प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप गरिएकाे छ, अन्य सेवा पनि थप गर्ने योजनामा अस्पताल प्रशासनले काम गरिरहेकाे जानकारी दिए ।
मनाेचिकित्सा वार्ड संचालनमा आएपछि महगो मुल्यमा निजी स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने समस्या हट्ने बताइएकाे छ । प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले यसअघि ओपीडीबाटै मानसीक समस्या भएका बिरामी उपचार गरिदै आएकोमा वार्ड संचालन पछि उपचार गर्न सहज हुने बताए ।
अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसंगै मकवानपुरसँगै आसपासका बिरामीलाई सहज हुने भएको छ । गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको अस्पताल प्रशासनले जनाएकाे छ । हाल सेवा विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए ।
प्रतिष्ठानमा हाल पढाइ भइरहेकेा विषयका साथै चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञकाे लागि शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रसाइ बताउँछन्।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनर्स्थापना केन्द्र स्थापनाको तयारी समेत भइरहेको छ । अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा संचालन गर्ने जनाएको छ ।