मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जिल्लाको राक्सिराङ गाउँपालिका ५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले हेटौंडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मंगलबार राती ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ उक्त पिकअपलाई चेकजाँचको लागि रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए । उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध गाँजा अन्दाजी ७० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बरामद गाँजा, पिकअप गाडी, मोटरसाइकल र प्रजा दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको समेत बताइएको छ ।