मकवानपुर । चैनपुर जेसीज (प्रस्तावित) को आयोजना आज मंगलबारबाट जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
चाडपर्वको अवसरमा जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।
१६ टिम सहभागी प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेल सिमपानी युवा क्लव र मनहरी ४ नम्बर वडा फुटबल टिम बिच हुदैछ । दोस्रो खेलमा खरंगा एफसी र हाँडीखोला यूथ क्लव खेल्नेछन ।
प्रत्येक दिन दुई/दुई खेल हुने प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता जनाउने भएका छन्’जेसीजका अध्यक्ष अधिकारीले भने, ‘सबै तयारी पूरा भएको प्रतियोगितालाई सभ्य र भव्य बनाउने छौं ।’ राक्सिराङमा सञ्चालन गर्ने योजना रहेको फुटबल प्रतियोगिता वर्षाका कारण हाँडीखोलामै गर्न लागेको आयोजकले बताएको छ ।
मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।