मकवानपुर । चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नति गरिने भएकाे छ । कैलाश गाउँपालिकाको मुख्य सडककाे सोमबार शिलान्यास गरिए पछि स्तराेन्नति गरिने भएकाे हाे ।
साढे ७ किलोमिटर उक्त सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय चितवनकाे कार्यक्रमबाट अमृता/आकृति मालिका/गोले जेभी हेटौंडा–१ ले ठेक्का प्राप्त गरेकाे हाे । भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता भएको चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिको काम १८ महिनाभित्रै सम्पन्न गर्ने जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले आफू निर्वाचित भएपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको बताउँदै यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेको जानकारी दिए । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने दृढता व्यक्त गरे ।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकुमार ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताए । उनले सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह समेत गरे ।
कैलाश–१० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको सडक शिलान्यासमा कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलान, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याललगायतको सहभागिता रहेको थियो ।