मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडामा समिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बार्षिक कार्यक्रम र भावी योजनाबारे प्रस्तुती प्रस्तुत गरेका थिए ।
वार्षिक समिक्षामा स्वास्थ्यको सूचकको आधारमा जिल्लाका ३ स्थानीय तहलाई सम्मानित गरिएकाे छ । थाहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । समिक्षा कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्था, जिल्ला आयुर्वेद, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेकाे समिक्षामा बर्षभरि गरेका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उप सचिव हरीकृष्ण फुयाँल,स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भूषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा.ललिता पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत भागरथप्रसाद रौनियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्षतामा समिक्षा कार्यक्रम भएको हो ।