मकवानपुर । दामोदर-लोकप्रिया स्मृति पुरस्कार अन्तरा महतो र प्रज्वल चौधरीलाई प्रदान गरिएको छ । नेपाली लेखक संघ मकवानपुरको नवौँ साधारणसभामा १२ कक्षाको परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने अन्तरा र प्रज्वललाई उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
लेखक सङ्घ मकवानपुरले जिल्लाबाट कक्षा १२ को परीक्षामा उच्चतम नतिजा ल्याउने अन्तरा र प्रज्वललाई पुरस्कृत गरेको हो । लेखक सङ्घको शनिबार हेटौंडामा भएको साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका चौधरी र महतोलाई प्रति व्यक्ति ११ हजार नगद र प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । अन्तराले ३.९ जीपीए र प्रज्वलले ३.७३ जीपीएसहित उत्कृष्ट नतीजा हासिल गरेका थिए ।
नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उहाँका मामा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन । ‘यस वर्षदेखि पुरस्कार प्रदान गर्न सुरु गरिएको छ’ नेपाली लेखक सङ्घ मकवानपुर अध्यक्ष छवि अनित्यले भने’अक्षयकोष स्थापना भएकोले पुरस्कारले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ ।
सङ्घ मकवानपुरका अध्यक्ष अनित्यको अध्यक्षतामा भएको साधारणसभामा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पुरस्कार संस्थापक विष्णप्रसाद गौतमलगायको उपस्थिति रहेको थियो ।