मकवानपुर । संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कमजोर आर्थिक अवस्थाको कारण उपचारमा कोहिमा कोहि बञ्चित हुनुनपर्ने बताएका छन । शनिबार हेटौंडामा पत्रकारसंग कुरा गर्दै मन्त्री बस्नेतले नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरे । ‘वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने रणनीति लिएको छ ।’
मन्त्री बस्नेतले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए । ‘हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरुलाई जनताको स्वास्थ्य उपचारको लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ’ उनले भने चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ ।’ स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सकमाथि पटक पटक आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइने बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उनको भनाई छ । पत्रकार भेटघाृटमा काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का लगायतकाे सहभागीता रहेको थियो ।