मकवानपुर । मकवानपुरको हेटौँडामा प्रहरीले एम्बुलेन्स रोकेकाे कारण बिरामीकाे मृत्यु भएकाे घटनामा संलग्न सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् ।
शिवाकाेटीले एम्बुलेन्स राेकेर बिरामीकाे आफन्तलाई समेत दुःख दिएकाे तथा एम्बुलेन्स समेत प्रहरी कार्यालयमा लगेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकाे थियाे । उक्त विषयमा समाचार प्रकाशित भएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सहायक हबल्दार शिवाकोटीलाई निलम्बन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक रेग्मीले एम्बुलेन्स रोक्ने शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए ।
छानविन समिति गठन
यसैबीच घुमुवा प्रहरीको अवरोधका कारण बिरामीको बाटोमै मृत्यु भएको घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार सम्भव नभए पछि बकैया १ धाेवीडाँडाकी चिरमाया लाेलाई डिस्चार्ज गरिएकाे थियाे । लाेलाई ना २ च ८४३२ नम्बरको एम्बुलेन्सबाट बकैया घर लैजान लाग्दा हेटौँडामा आइतबार राती घुमुवा प्रहरी सहायक प्रहरी हबल्दार डिल्लीराम सिवाकोटीले अवरोध गरेका थिए ।
सादा पोशाकमा रहेका सिवाकोटीले प्रहरी हुँ भन्दै दुव्र्यवहार गर्नुका साथै हातपात समेत गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । हेटौँडा–४, रानीदरबारमा काठमाडौंबाट आएको सुमोलाई छाडेर बकैयातर्फ जान अर्को सुमोमा सामान सार्दै गर्दा सहायक प्रहरी हबल्दार सिवाकोटी पुगेका थिए ।
सिवाकोटीको अवरोध र केहीबेरको तनावपछि सुरक्षागस्तीमा हिँडेको प्रहरी टोलीले घटनालाई साम्य पार्नुका साथै चिरमाया र उनको परिवारलाई जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले रोकेकै कारण चिरमायाको सोमबार बिहान प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भएकाे परिवारले आराेप लगाएकाे छ । बिरामीकाे परिवारसँगकाे तनावकाे कारण सहायक हबल्दार सिवाकोटी घाइते भएकाेमा उपचारका लागि चितवन लगिएकाे थियाे ।