मकवानपुर । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिइने भएको हो ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
लामो समय साझा प्रकाशनमा आबद्ध मुखिया ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।
त्यस्तै, २०७९ सालको मदन पुरस्कार ओझाको ऐंठन उपन्यासलाई प्रदान गर्ने निर्णय भएको छ। विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ।
लेखक ओझाको यो तेस्रो पुस्तक हो। यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन्।
यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो। जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर पुस्तक समावेश थिए।
२०७९ सालको मदन पुरस्कारका लागि ३सय १३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ।
२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई प्रदान गरिएको थियो। जगदम्बा-श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिदै आएको छ ।