मकवानपुर । हेटौंडामा मिडिया र अपाङ्गता विषयक अन्तरक्रिया गरिएकाे छ । आइतबार मिडिया र अपाङ्गता विषयक अन्तरक्रियामा अपाङ्गता अधिकार सवाल पहुँचयुक्त भौतिक संरचना सम्बन्धी प्रतिवेदन सार्वजानिक गरिएको छ ।
प्राविधिक, राष्ट्रिय अपाङ्ग महासंघ, सदस्य संस्थाका प्रतिनिधि तथा प्रयोगकर्ता, मिडियाकर्मी र सम्बन्धित कार्यालयका प्रतिनिधिहरुले संयुक्त रुपमा सरकारी कार्यालयको भाैतिक संरचनाको गरिएको अनुगमनको प्रतिवेदन सार्वजनिक गरेका हुन ।
प्रतिवेदनमा चिन्ह तथा संकेत, र्याम, लिफ्ट, विपद् व्यवस्थापन योजना, संकेतिक भाषाको ज्ञान भएका व्यक्ति, बैठक हल जस्ता समस्या सरकारी कार्यालयको मातहतभित्रै रहेको उल्लेख छ । यस्तै नक्सा र अडियो गाइड, पार्किङ क्षेत्र, उजुरी तथा गुनासो बाकस, प्रतीक्षा क्षेत्र, करीडोर, पहुँचयुक्त शाैचालय र धारा, पहुँचयुक्त वेवसाईट र स्वास्थ क्षेत्रमा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक गर्नुहुँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका जनवकालती सुरेन्द्र तिमल्सिनाले अपाङ्गता भएका व्यक्तिहरुले निःशुल्क औषधि पाउने अवस्था नरहेको बताए । नेपाल सरकारले सय प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरेका छन् तर २-३ वटा प्रकारका औषधि नै पाउन मुस्किल रहेको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकामा दोभाषे राखिएकाेमा प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा दोभाषे नहुँदा अपाङ्गता भएकाहरुले सेवा लिन, आफ्ना गुनासा राख्न नसक्ने अवस्था रहेकाे बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, हेटौंडा-१२ नम्बर वडा कार्यालय, हेटौंडा-१३ स्थित युग चेतना नमुना आधारभूत विद्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला अदालत मकवानपुर, हेटौंडा उपमहानगरपालिका लगायतका विभिन्न क्षेत्रको सरकारी कार्यालयमा अनुगमन गर्दा अपाङ्गता भएका व्यक्तिले सेवा लिन समस्या पाइएकाे उनले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयको आयोजनामा भएको अन्तरक्रियमा अपाङ्गता अभियानकर्मी तथा सिआईएलका महासचिव गणेश केसीले अपाङ्गता तथा उक्त विषयमा समाचार लेख्दा ध्यानदिनु पर्ने विषयवस्तु माथि कार्यपत्र प्रस्तुत गरेका थिए । केसीले अपाङ्गता भएका व्यक्तीकाे लागि प्रयोग गर्न हुने र नहुने शब्द, मिडियामा अपाङ्गता भएका व्यक्तिको स्थान, अपाङ्गताका विषयमा समाचार लेख्दा पत्रकारले पालना गर्नुपर्ने र ध्यान दिनुपर्ने कुरामा कार्यपत्र प्रस्तुत गरेका थिए । उनकाे कार्यपत्र माथि छलफल गरिएको थियो ।
महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी निकायहरुको पहुँच परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश जनवकालत अधिकृत सुरेन्द्र तिमल्सिनाले सरकारी निकायहरुमा प्रमुख समस्या प्रस्तुत गरेका थिए । अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, लक्ष्मी पौडेल, महासंघका केन्द्रीय उपाध्यक्ष अनिता घिमिरे तथा नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।