मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम निगमले मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ ।
निगममले मूल्यवृद्धि गर्ने निर्णय आइतबार राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको छ । निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६ रुपैया, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैया तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
