मकवानपुर । सहमतीमै नेतृत्व छान्ने कसरत गरेकाे एमाले बागमतीकाे अधिवेशन अन्ततः निर्वाचनमै गएकाे थियाे । निर्धारित समय भन्दा ढिलाे गरी सुरु भएकाे निर्वाचन शुक्रबार बेलुका सकिएकाे छ ।
एमाले बागमती प्रदेश अधिबेशनकाे लागि भूगोल, जनसंगठन र मनोनीत गरी १ हजार १ सय ७४ प्रतिनिधि चयन भएकाेमा मतदानमा जम्मा १ हजार १ सय ३५ मत खसेकाे छ । मतदानमा ३२ जना अनुपस्थित भएको निर्वाचन कमिटिले जनाएकाे छ । आजै सकिएकाे निर्वाचनकाे आजै रातीसम्म आउने बताइएकाे छ ।
बागमती प्रदेश कमिटीको निर्वाचनमा यस अघि १ सय ६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएकाे अधिवेशनकाे पाचाैं दिन शुक्रबारसम्ममा २ सय ४५ पदमध्ये १ सय ६२ पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवा जिल्लामा सर्वसम्मत हुँदा ९ जिल्लामा आंशिक निर्विरोध भएकाे नेता शेरबहादुर तामाङले बताए । निर्विरोध भएका १ सय ६२ पद मध्ये पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भएकाे हाे । एमाले पार्टी कार्यालय च्यासलमा भएकाे मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग गरिएकाे थियाे ।
बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । ढंगेल र दाहालले अन्य ४ पदाधिकारी पदमा समेत प्यानल बनाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको थियाे । उपाध्यक्षमा ठकुरी, खतिवडा, लामा, पोखरेल र राजेन्द्र राजथला उम्मेदवारी दिएकाेमा राजथलाले पछि उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवार छन्।
उपसचिवमा १२ जनाको उम्मेदवारी दिएका छन्। खड्कबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उम्मेदवार छन्।