मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशसँगकाे सहकार्यमा साहित्य संगम मकवानपुरले कविता प्रतियाेगिता गर्ने भएकाे छ । युवा परिषद सहयाेगमा सङ्गमले खुला कविता प्रतियोगिता गर्ने भएकाे छ ।
विषय खुला रहेको युवा लक्षित कविता प्रतियाेगितामा ४० वर्ष मुनीका कविहरूले मात्र भाग लिन पाउने भएका छन् । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भइसक्नुपर्ने आयोजकले जनाएकाे छ ।
ताेकिएकाे समयसिमा भित्र प्राप्त कवितामध्येबाट उत्कृष्ट २० छनौट गरिने छ । उत्कृष्ट २० मा पर्ने कविहरुलाई अन्तिम प्रतियोगितामा सामेल गराइने संगम सचिव मनाेज पोखरेलले बताए । अन्तिम प्रतियाेगितामा कविता वाचनकाे लागि कवि स्वयम् उपस्थित हुनुपर्ने पोखरेलले जानकारी दिए । प्रतियाेगिताकाे मिति भने पछि ताेकिने भएकाे छ ।
कविता बढीमा १५० शब्दसम्ममा लेखिएकाे, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) प्रकाशित नभएकाे तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । कविता प्रतियाेगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुने कविले ३० हजार, तृतीय हुने कविले २० हजार र सान्त्वना हुने कविले १० हजार पुरस्कार प्राप्त गर्ने संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।

