मकवानपुर । चीनको हाङझाउ सुरु १९ औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले सहभागिता जनाएका छन्।एसियाका ४५ वटै देशको सहभागिता रहेको यस पटकको एसियाडमा नेपालको सहभागिता अहिले सम्मकै उच्च हो।
नेपाल बाट १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्। एसियाली खेलकुदमा ४० खेलका ४ सत ८१ इभेन्टमा १२ हजार ४ सय १७ खेलाडीहरु प्रतिस्पर्धा गर्दै छन्। एसियाडको इतिहासमै सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो।
१९ औ एसियाली खेलकुदको उद्घाटन शनिबार चिनको हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम अर्थात ‘बिग लोटस’ मा गरिएको हो ।चिनियाँ राष्ट्रपति सी जिनफिङले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए। नेपालको तर्फबाट निमा घर्ती मगर र बिरबहादुर महराले राष्ट्रिय झण्डाका साथ मार्छ पासमा सहभागी थिए। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।
कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला १९ औं एसियाड सुरु भएको हो ।एसियाडको नारा ‘हृदय देखी हृदय भविष्य’ रहेको छ। उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो।
नेपालले एसियाली खेलकुदमा १९५१ मा भारतमा भएको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको छ। सात दशकभन्दा लामो प्रतियोगिताको इतिहासमा नेपालले १९५४ र १९६२ को संस्करणमा बाहेक बाँकी सबै प्रतियोगितामा भाग लिएको छ।
नेपालले पहिलो पदकका लागि १९८६ को एसियाली खेलकुदमा दलबहादुर राना मगरले दिलाएका थिए। दक्षिण कोरियाको सोलमा आयोजित प्रतियोगितामा नेपालले एकैपल्ट ८ कांस्य जितेको थियो।
१९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जित्दा गत संस्करणमा इन्डोनेसियामा भएको पछिल्लो एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फ रजत जितेको थियो।
२०१० र २०१४ को एसियाली खेलकुदमा भने नेपाल एक-एक कांस्यमै सीमित रहनुपरेको थियो। तेक्वान्दोले सर्वाधिक १ रजत र १५ कांस्य जितेको छ। नेपालका लागि एसियाडमा दुई पटक पदक जित्ने खेलाडीका रूपमा दीपक विष्ट मात्र रहेका छन्। उनले २००२ र २००६ मा तेक्वान्दोमा काश्य जितेका थिए।
नेपालका लागि पदक विजेता खेलाडीहरू
स्वर्गीय दलबहादुर रानामगर (बक्सिङ, काश्य १९८६)
तुल बहादुर थपा (बक्सिङ, काश्य १९८६)
सुशील पोखरेल (बक्सिङ, काश्य १९८६)
मनोज बहादुर श्रेष्ठ (बक्सिङ, काश्य १९८६)
राजकुमार राई (तेक्वान्दो, काश्य १९८६)
विधान लामा (तेक्वान्दो, काश्य १९८६)
स्वर्गीय राजकुमार घर्ती क्षेत्री (तेक्वान्दो, काश्य)
राज कुमार बुढाथोकी (तेक्वान्दो, काश्य १९८६)
चित्र बहादुर गुरुङ (बक्सिङ, काश्य १९९०)
मान बहादुर शाही (तेक्वान्दो, काश्य १९९४)
सीता राई (कराते, काश्य १९९४)
सविता राजभण्डारी (तेक्वान्दो, रजत १९९८)
किशोर श्रेष्ठ (तेक्वान्दो, काश्य १९९८)
सपना मल्ल (तेक्वान्दो, काश्य १९९८)
समर बहादुर गोले (कराते, काश्य १९९८)
दीपक विष्ट (तेक्वान्दो, काश्य २००२, २००६ )
रेनुका मगर (तेक्वान्दो, काश्य २००२)
रितु जिमी राई (तेक्वान्दो, काश्य २००२)
मनिता शाही (तेक्वान्दो, काश्य २००६)
आयषा शाक्य (तेक्वान्दो, काश्य २००६)
दीपक महर्जन (बक्सिङ, काश्य २०१०)
विमला तामाङ (कराते, काश्य २०१४)
प्याराग्लाइडिङ टिम (विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ, विशाल थापा) २०१८ मा नेपाललाई एकमात्र पदकका रूपमा रजत दिलाएको थियाे ।