काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियाेगिता २०८० हुने भएकाे छ । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि बाह्रखरी मिडियाले कथा आह्वान गरेकाे छ । बाह्रखरीले काठमाडौंमा पत्रकार भेटघाट गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको जनाकारी दिएकाे हो ।
कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको निरन्तरताकाे लागि पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको हाे । आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य रहेको प्रतियोगितामा नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हाे ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरू पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले प्राप्त कथामध्येबाट ५० कथा छनाैट गरी निर्णायक समूहलाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिने बताइएकाे छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगदसहित तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएकाे छ । यसैगरी संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । उत्कृष्ट कथासंग्रहको पुस्तकमा प्रतियोगिताबाट प्राप्त २५ कथाका साथै स्थापित कथाकारहरूबाट प्राप्त पाँच कथाहरू पनि समावेश गरिनेछ ।
पाचाै संस्करणकाे कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार सार्वजनिक गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८०’ को लोकार्पण पनि गरिने कार्यक्रम रहेकाे छ । आउँदो असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा इमेल गरेर कथा कथा पठाउन सकिने विज्ञप्तिमा जनाइएकाे छ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिने प्रतियोगितामा गत वर्ष ५ सय ९६ कथाहरू प्राप्त भएको थियो ।
कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । त्यसैगरी, प्रतियोगितको दोस्रो संस्करणमा लाहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
यस्तै तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएका थिए भने चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय र रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य
पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताएकी छन् । उनले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताइन् । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिइन् ।
‘प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,’ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उनले भनिन्, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”
बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने उनको धारणा छ । सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको उनले स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने उनले बताइन् ।
कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उनको भनाइ छ । ‘म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,’ उनले भनिन्, ‘आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।’
उनले बाह्रखरी कथा लेखन प्रतियोगितालाई नयाँ पुस्ताले सुनौलो ‘प्लेटफर्म’का रूपमा लिनुपर्ने बताइन् । ‘प्लेटफर्म नपाउनेका लागि यो अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै समाजलाई दिशा दिने कथा आउनेछन् भन्ने लाग्छ,’ उनले अगाडि थपिन्, ‘नयाँ पुस्ताले नै नेपाली कथालाई धानिरहेको छ । त्यसैले यो प्रतियोगिताले निरन्तरता पाओस् भन्ने मेरो चाहना छ ।’
निर्णायकमण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । ‘बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,’ कथाकार भट्टराईले भने, ‘हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो ।’
उनले विचार र भाषालाई सन्तुलित गरेका कथा नै बलियो हुने धारणा राखे । ‘विचार र भाषा सन्तुलित भएका कथा नै वास्तवमा सशक्त हुन्छन्,’ उनले भने, “प्रतियोगितामा यहीभित्र रहेर कथा पठाउन म आग्रह पनि गर्छु ।’
डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाली माटोका मौलिक कथा आवश्यक रहेको बताए । कथा लेखनमा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । उनले समाज रूपान्तरण गर्न सक्ने कथा आवश्यक रहेको औँल्याए । उनले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । ‘कथा लेख्ने पालो अब युवा पुस्ताको हो । टेलिभिजनले उठाउन नसकेका विषय कथाले समेट्नुपर्छ भन्ने लाग्छ,’ उनले थपे ।
फाइन प्रिन्टका सञ्चालक निरज भारीले कर्पोरेट हाउसलाई साथमा लिएर कथा प्रतियोगिता गर्नु नै नेपाली साहित्यमा नयाँ सोच भएको टिप्पणी गरे । बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँ पुस्ताका लागि सम्भावनाको ढोका उघार्ने माध्यम भएको उनले बताए । यसलाई नयाँ पुस्ताले अवसरका रूपमा लिन सक्नुपर्ने उनको धारणा छ ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँका लागि मात्र नभएर सबैकाे लागि भएकाे बताए । ‘यो प्रतियोगिता नयाँ प्रतिभाका लागि मात्रै हो कि भन्ने भ्रम रहेको छ, तर त्यस्तो होइन । सबैका लागि हो,’ उनले स्पष्ट पारे । हरेक वर्ष नयाँ प्रयास गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि आमन्त्रित साहित्यकारको कथा समावेश गरिएको जानकारी दिए ।
बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले नयाँ स्रस्टा जन्माउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले संसारभरका नेपालीभाषी कथाकारलाई प्रतियोगिताले समेट्ने भन्दै सहभागी हुन आह्वान गरे ।
बाह्रखरी कथा लेखन प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा भूगोल र उमेरको छेकबार नरहेको बताए । जुनसुकै देश र उमेरका कथाकारले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न जाति, समुदाय, लिंग र भूगोललाई प्रतिनिधित्व गर्ने कथा प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।