मकवानपुर । मकवानपुरमा प्रहरीले ९ सय किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरले ९ सय १९ किलो ३ सय २४ ग्राम लागुऔषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतीयलाई नियन्त्रणमा लिएको हो ।
भदौ ३१ गते आइतबार बिहान ४ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१०, पुर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्कबाट सशस्त्र प्रहरीले उक्त परिणामको गाँजासहित कन्टेनर ट्रक २ जना भारतीयलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्कीले जानकारी दिए ।
प्रहरीले चालक भारत बलरामपुर जिल्ला बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सह चालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई नियन्त्रणमा लिएको जनाएको छ ।
१४ नम्बर गण हेटौंडाका सुमन ठकुरीको कमाण्डमा खटिएको टोलीले चितवनबाट वीरगन्जतर्फ जादै गरेको एनएल ०१ एसी २१४५ नम्बरको डिब्बावाल कन्टेनरबाट गाँजा बरामद गरेको हो । ट्रकको जाँच गर्दा ड्राईभर तर्फ २ फिटको फल्स बटम बनाई लागुऔषध गाँजा ल्याएको अवस्थामा फेला पारेको हो ।
प्रहरीले यादव र वर्माको साथबाट नेपाली ५ हजार ७ सय रुपैयाँ र भारतिय ८ हजार ६ सय ३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको जानकारी दिएको छ ।