मकवानपुर । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज सुरु भएको छ । तीजको आइतबार आज पहिलो दिन दर खाएर मनाइदै छ ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।
यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ
हरितालिका तीजको दोस्रो दिन निराहर व्रत बस्नु पर्ने तथा मन्दिरमा पुजा गरे पछि नाचगान गर्नु पर्ने भएकोले आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।
दर के हो?
घ्यूमा पकाएको खाना दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जसकारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२:०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो । दर शुद्ध शाकाहारी खाद्यान्न खाएर मनाउने चलन छ । दरमा दही, घिउ, खिर, काक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएको छ ।
त्यसपछि भोलिबाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहँदै आएको छ ।
धार्मिक महत्व
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।
गणेश चौथी
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक लगायतका गणेशका मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ ।
कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । तर तिथि घटबढको कारन यस वर्ष चौथी र ऋषिपञ्चमी यकै दिन परेको छ ।
ऋषिपञ्चमी
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् ।
ऋषि पञ्चमीका विषयमा यस्तो किंवदन्ती पनि प्रचलित छ :
विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् ।
एकातिर ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्दा पितृहरू मुक्त हुन्छन् भने अर्कातिर रजस्वला भएको अवस्थामा थाहा नपाएर, जानीजानी, झुक्किएर वा बाध्यतावश गरिएका सबै दोष नाश हुन्छन् भन्ने विश्वास गर्छन् हिन्दु महिला । नारीले घर, सामुदायिक भवन, कुनै सार्वजनिक ठाउँ वा मन्दिरमा भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा गरी तीजका गीत गाउँछन् । ऋषिपञ्चमीको व्रत गर्ने नारीले हलोले जोतेर उत्पादन गरिएको अन्न खाने चलन छैन ।