मकवानपुर । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजबादको मिसन पुरा गर्नका लागि आफूहरुले यो मोर्चा तयार गरेको बताए ।
चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै उनले पहिले चुनावका लागि मोर्चा बनाए पनि अहिले भने जनताको काम गर्न मोर्चा बनाइएको बताए । उनले अब सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको औंल्याए ।
‘सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ, त्यस्तो होइन, सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ, त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं, हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं,’ उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार मुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताए । कार्यकर्तालाई उत्साहका साथ आआफ्नो स्थानबाट काम गर्न पनि उनले निर्देशन दिए ।
सन्देश सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्ड सरकारबाट लड्नुपर्ने र आफूहरु सडकबाट लड्ने बताए । चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरु सडक, सदन र सरकारबाट समेत लड्ने बताएका हुन् ।