मकवानपुर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडामा हुने सन्देश सभामा सहभागी हुन आउँदै छन् । उनीसँगै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द पनि हेटौंडा आउने कार्यक्रम रहेको छ ।
आज हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल हेटौंडा आउन लागेका हुन् । नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालका अनुसार आज हुने सन्देश सभामा दाहालले दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।
यसैगरी अर्को छुट्टै कार्याक्रममा सम्बोधन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोइराला पनि हेटौंडा आउने भएका छन् । मकवानपुरको हेटौडा ११ स्थित वीपी वाटीकामा निर्माण गरिएको वीपीको प्रतिमा अनावरण कार्यक्रममा कोइराला हेटौडा आउन लागेका हुन् ।
कांग्रेस मकवानपुरको आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीको १ सय १० औं जन्मजयन्तीको अवसरमा प्रतिमा अनावरण कार्यक्रम राखिएको हो । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसको पछिल्लो समयको रणनीतिको विषयमा जानकारी दिने छन् ।