मकवानपुर । मकवानपुरे कवि गणेशकुमार तिमल्सिनाको ‘हार्न नसक्ने मान्छे म’ पुस्तककाे मामाघर नेपालमा विमाेचन गरिएकाे छ । तिमल्सिनाकाे कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’ को शुक्रबार हेटौडा ११ स्थित मामाघरमा आश्रित ५ जना भान्जाहरुले विमाेचन गरेका हुन ।
पुस्तक विमाेचन पछि पुस्तकका सम्पादक कवि निमेष निखिलले तिमल्सिनाका कविता र गजलहरु उत्कृष्ट रहेको बताए । जीवन भोगाईका सुखदुखकाे अवस्था र अनुभूतिको अभिव्यक्ति नै तिमल्सिनाको कविताको मूल भाव रहेको उनले बताए । प्रतिकुल समयसँग पौँठेजोरी खेल्ने हिम्मत र बाटो बिराएको राजनीतिले सहि बाटो पहिल्याउनु पर्छ भन्ने सन्देश उनको कविता तथा गजलमा समेटिएको निमेषकाे भनाई थियो।
पुस्तक विमाेचन कार्यक्रममा कवि आरसी रिजालले तिमल्सिनाको कविता तथा गजलहरुले वर्तमान मानिसहरुको भावनालाई बोलेको बताए । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरु प्रकाशन गर्दै आईरहेका तिमल्सिनाले कृति प्रकाशन मार्फत समाजमा भएको समसामयिक विषयलाई उजागर गर्न खोजेको रिजालले जानकारी दिए । कार्यक्रम अनलाईन मिडिया एसोसियसन (ओमान) का अध्यक्ष धर्मेन्द्र दाहालले तिमल्सिनाको कविता तथा गजल संग्रहले मकवानपुरे साहित्यमा थप योगदान दिएको बताए । तिमल्सिनाकाे कविता तथा गजल मार्फत समाजमा ब्याप्त असन्तोष, राजनीतिक खिचातानीलाई ब्याङ्ग्यात्मक शैलीमा उजागर गर्न खोजेको दाहालकाे भनाई थियो ।
‘हार्न नसक्ने मान्छे म’ का सर्जक तिमल्सिनाले आफूले लामो समयदेखि साहित्यको क्षेत्रलाई नियालेको, विभिन्न सञ्चार माध्यममार्फत आफ्ना कविता, गजल सहितका साहित्यक विचारहरुलाई प्रस्तुत गर्ने गरेको बताए । “हार्न नसक्ने मान्छे म” पहिलो पुस्तक भएको भन्दै उनले आगामी दिनमा अन्य साहित्यिक कृतिको तयारी गरेको समेत बताए ।
मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीको अध्यक्षतामा भएको पुस्तक विमाेचन कार्यक्रममा मकवानपुरका साहित्यकार, राजनैतिककर्मी तथा पत्रकारलगायतका उपस्थिति रहेकाे थियाे ।