कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरण
कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म पालो कुर्दा पनि उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्युलाई गुपचुप पार्न खोजेको अस्पताल प्रशासनले सार्वजनिक दबाबपछि छानबिन समिति गठन गरेको छ । बुधबार समाचार प्रकाशित भएसँगै जनस्तरबाट अस्पताल प्रशासन र कर्मचारीको व्यापक विरोध भएपछि तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले समेत दोषीलाई कारबाही गर्न निर्देशन दिएपछि तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
डा. प्रकाश जोशीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य छन् । अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर छानबिन समिति गठनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिएको छ, ‘सोमबार रातको समयमा यस अस्पतालको इमर्जेन्सी वार्डमा भएको घटनाका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउन तपार्इं (डा. प्रकाश जोशी)को संयोजकत्वमा तपसिलबमोजिमका सदस्यहरू (सिलवाल र दाहाल) रहने गरी समिति गठन गरिएको हुँदा सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्नुहुन अनुरोध छ ।’
थापाथलीस्थित परोपकार प्रसूतिगृह स्त्रीरोग अस्पतालको ६४औँ वार्षिकोत्सव कार्यक्रममा पुगेका निर्देशक डा. रायलाई मन्त्री बस्नेतले फोन गरेर तुरुन्त छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । त्यसपछि छानबिन समिति गठन गरिएको हो । समितिको छानबिनमा दोषी देखिए कारबाही गरिने डा. रायले बताए । ‘घटनाको बारेमा छानबिन गर्न समिति गठन भएको छ,’ उनले भने, ‘समितिको सिफारिसअनुसार हामीले सेक्युरिटी गार्ड वा अस्पतालको दोष देखिएका सम्बन्धित व्यक्तिलाई कारबाही गर्छौँ ।’
उच्च ज्वरो र निरन्तर बान्ता भएर थलिएकी रेजिशालाई सोमबार साँझ आमा रिता गोपाली र हजुरबुबा कृष्णबहादुर गोपालीले उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्याएर तत्काल उपचारको व्यवस्था मिलाइदिन पटक–पटक गुहार गरे पनि त्यहाँ खटिएका कर्मचारीले पालोमा कुराउँदा ज्यान गएको थियो । बालिकाको मृत्युलगत्तै सोमबार राति र मंगलबार बिहान परिवार तथा आफन्तले आन्दोलन गरेपछि अस्पताल प्रशासनले मिलापत्र गराएर उन्मुक्ति लिने प्रयास गरेको थियो ।
घटनाबारे मंगलबार नयाँ पत्रिकाले प्रतिक्रिया माग्दा अस्पताल निर्देशक रायले बालिकाको मृत्यु दुःखद भए पनि दोष बिरामीको आफन्तलाई नै लगाएका थिए । आफन्तले बिरामीको अवस्थाबारे अस्पतालका कर्मचारीलाई बुझाउन नसक्दा बालिकाको मृत्यु भएको गैरजिम्मेवार जवाफ दिएका थिए । उनकै सक्रियतामा मंगलबार बालिकाकी आमा रिता र हजुरबुबा कृष्णबहादुरलाई कानुनी बाटो खोज्दा थप झन्झट हुने त्रास देखाएर मिलापत्र गराई उम्किने प्रयास भएको थियो । मंगलबार तयार गरिएको मिलापत्र ड्राफ्टमा पीडित पक्षलाई कुनै राहत तथा घटनाको छानबिनबारे केही उल्लेख थिएन ।
‘हामीले त अस्पताल प्रशासनलाई कारबाही हुनुपर्छ भनेका थियौँ, तर उहाँहरूले कानुनी कारबाहीको बाटोमा जाँदा उल्टै दुःख हुन्छ भन्दै मिलापत्र गर्न दबाब दिनुभयो,’ कृष्णबहादुरले भने, ‘मिलापत्रमा हामीलाई कुनै किसिमको राहत र सान्त्वना दिने कुरै थिएन ।’ कानुनी प्रक्रियामा नलाग्न दबाब दिएकै कारण परिवारले मंगलबार नै बालिकाको अन्त्येष्टि गरेका थिए ।
नयाँपत्रिकाबाट
याे पनि हेर्नुस्
दुई घन्टा कुर्दा पनि उपचार नपाएर मकवानपुरकी बालिकाकाे कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मृत्यु