मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशको नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।
उनले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गतिशील र सवल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
काफ्लेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।
काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । नेविसंघका पूर्वमहामन्त्री रहेका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।