मकवानपुर । भदौ १४ गते यस वर्षकाे जनै पूर्णिमा तथा रक्षाबन्धन पर्न परेकाे छ । श्रावणशुक्लपक्ष पूर्णिमाका दिन रक्षाबन्धन तथा जनै पूर्णिमा मनाउने गरिन्छ । यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमा दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पर्व समेत पर्ने भएकाेले नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी धुमधामका साथ मनाइन्छ ।
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।
त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।
आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । आजकाे दिन रसुवाकाे गाेसाइकुण्ड, ललितपुरको कुम्भेश्वर लगायत देशभर मेला लाग्ने गर्दछ ।
गाइजात्रा पर्व पनि आजै
सामान्यतः तिथिमिति अनुसार श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमाकाे भाेलीपल्ट गाइजात्रा पर्व पर्ने भएता पनि यस वर्ष गाइजात्रा पर्व पनि आजै परेकाे छ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ ।
काठमाडौं उपत्यका तथा देशभरका विशेषगरी नेवार समुदायले आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन अन्न र द्रव्य दान गरिन्छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।