मकवानपुर । मकवानपुरको मनहरीका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बस्ती सङ्घर्ष समितिले मनहरी गाउँपालिका कार्यालयमा धर्ना दिएको छ । समितिले भूमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीको भू–स्वामित्व कायम गर्नुपर्ने, संरक्षित क्षेत्रलाई संरक्षण गर्नुपर्ने,मध्यवर्तीको नाममा निकुञ्जको ज्यादतीलाई अन्त्य गर्नुपर्ने,नेपालको संविधानमा उल्लेखित जनताको मौलिक हक अधिकारको सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिएको हो ।
यसैगरी स्थानीय सरकारले जनाताप्रति उत्तरदायी भई अधिकार कार्यन्वयन गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ३ क, (१) मा उल्लेखित व्यवस्था खारेज गर्नुपर्ने, भूमि सम्बन्धी ऐन २०७६ खण्ड ६५ को दफा ५२ ख, ४ को उपदफा (ग) मा उल्लेखित परिभाषालाई खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
सङ्घर्ष समितिका अध्यक्ष क्षेत्रबहादुर मोक्तानले मध्यवर्ती क्षेत्रका कारण मनहरीका नागरिकले निकै दुःख झेल्नु परेको बताए । आफूहरुको माग पूरा नभए भदौ २५ गते गाउँपालिका र मनहरीका सबै वडा कार्यालयमा तालाबन्दी गर्ने उनले जानकारी दिए । त्यसपछि पनि मागको सुनुवाइ नभए जनप्रतिनिधिहरूको घरमा तालाबन्दी गर्ने चेतावनीसमेत मोक्तानले दिएका छन् ।
यसैबीच मनहरी गाउँपालिका भित्र रहेको ऐलानी जग्गा नापी र भूमिहिन सुकुम्बासी तथा दलित सुकुम्बासीहरुको ब्यबस्थापनमा नितिगत रुपमा संसोधन गर्न र प्रक्रिया अगाडि बढाउन मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालसमक्ष ज्ञापन पत्र बुझाइएकाे छ ।
जिल्ला समन्वय समिति मकवानपुर सभापति ललित बहादुर घलान सहित गाउँपालिकाका पदाधिकारीहरुले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन । गाउँपालिकाकाे माग प्रती प्रधानमन्त्री दाहाले संबाेधन गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेकाे गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले बताइन् ।
